logo
२०८० चैत्र १६ शुक्रवार



फ्लोयडलाई अन्तिम श्रद्धाञ्जली दिँदै ह्युस्टनमा अन्त्येष्टि गरियो (फोटो फिचरसहित)

फिचर |
अन्तर्राष्ट्रिय |


फ्लोयडलाई अन्तिम श्रद्धाञ्जली दिँदै ह्युस्टनमा अन्त्येष्टि गरियो (फोटो फिचरसहित)


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २८ गते । प्रहरी नियन्त्रणमा मृत्यु भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा करिब पाँच सय जनाको उपस्थिति रहेको थियो ।
फ्लोयडको गृहनगर अमेरिकाको ह्युस्टनस्थित एक चर्चमा उहाँको अन्त्येष्टि गरिएको छ ।

सेतो घोडाले तानेको गाडीमा फ्लोयडको शव राखेर चर्चसम्म पुर्याइयो । फ्लोयडको आमाको चिहान नजिकै फ्लोयडको शव गाडिएको छ । चार घण्टासम्म चलेको उक्त अवसरमा फ्लोयडका दर्जनौँ आफन्तजनको उपस्थिति रहेको थियो ।

अन्त्येष्टिमा अभिनेता जैमी फोक्स, कैनिङ टटम, जेजे वाट, रयापर ट्रे ता ट्रुथ, ह्युस्टन प्रहरी प्रमुख आर्ट एसीभेडो र मेयर सिल्भेस्टर टर्नरमा उपस्थित हुनुभयो ।
डेमोक्रयाट पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार जोए बिडेनले फ्लोयडकी छोरीलाई सम्बोधन गर्नुहुँदै भिडियो सन्देश अन्त्येष्टिको क्रममा देखाइएको थियो। मेयर टर्नरले निस्सासिने गतिविधिलाई प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरिरहँदा अन्त्येष्टिमा सहभागी सयौँ व्यक्ति घुँडा निहुराएर प्रशंसा गरेका थिए । फ्लोयडकी छ वर्षीया छोरी समेत बुबालाई अन्तिम श्रद्धाञ्जली दिन चिहान पुग्नुभएको थियो ।


फ्लोयडलाई श्रद्धाञ्जली दिन उहाँको जन्म भएको उत्तरी कैरोलिनाको राइफोर्ड, हुर्केको ह्युस्टन र मृत्यु भएको मिनियापोलिसमा छ दिनसम्म श्रद्धाञ्जली दिइनेछ ।
मिनियापोलिसमा प्रहरी नियन्त्रणमा मई २५ मा मारिएका जर्ज फ्लोयडको पार्थिव शरीर आइतबार ह्युस्टन लगिएको थियो । फ्लोयडको मृत्युपछि न्यायको मागसहित सुरु भएको विरोध प्रदर्शन अमेरिकी प्रमुख शहरसँगै विश्वव्यापी बनेको छ । अश्वेत नागरिकमाथि गोरा समुदायको विभेदको रुपमा फ्लोयडको मृत्युलाई अथ्र्याइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?