logo
२०८० चैत्र १६ शुक्रवार



उदयपुरमा सुरक्षाकर्मीसहित थप ३६५ को स्वाब सङ्कलन

प्रदेश |


उदयपुरमा सुरक्षाकर्मीसहित थप ३६५ को स्वाब सङ्कलन


गाईघाट समाचारदाता
गाईघाट,जेठ २० गते । जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरले भारतबाट आएर क्वारेन्टाइनमा राखिएका र कोरोना भाइरस प्रभावित क्षेत्रमा गई अग्रपङ्तिमा खटेका सुरक्षाकर्मी सहित मङ्गलबार थप तीनसय ६५ जनाको स्वाबको नमूना सङ्कलन गरेकोे छ । सङ्कलित स्वाब पीसीआर परीक्षणको लागि काठमाण्डौँको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो । उदयपुरका स्थानीय तहहरूले स्वाब परीक्षण गर्ने किट्स (भीटीएम) किनेर ल्याएकोले थप ३६५ जनाको स्वाब सङ्कलन गरिएको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार ११५ जना सुरक्षाकर्मी, १३४ जना भारतबाट आएर क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू र अन्य ११६ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना सङ्कलन गरिएको हो । जसमा जिल्लाको चौदण्डीगढी, बेलका, कटारी र त्रियुगा नगरपालिकामातहत रहेका क्वारेन्टाइनमा हालै भारतबाट आएका व्यक्तिहरू राखिएको र उहाँहरूको नमूना परीक्षणपछि मात्र उदयपुरमा कोरोना भाइरस सङ्क्रमणको पछिल्लो स्थिति पहिचान गर्न सकिने जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

गत वैशाख ३१ गतेपछि उदयपुरमा हालसम्म गरिएको परीक्षणमा सङ्क्रमित नथपिएको अवस्थामा आजबाट भने भारतबाट आएका विभिन्न व्यक्तिहरूको स्वाब सङ्कलन गरिएकोले अबको रिपोर्टमा भने सङ्क्रमितहरूको सङ्ख्या केही बढ्न सक्ने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?