logo
२०८० चैत्र १६ शुक्रवार



‘अदुवा चिया र गुर्जाे सेवनले ठीक भयो कोरोना’

फिचर |
स्वास्थ्य |


‘अदुवा चिया र गुर्जाे सेवनले ठीक भयो कोरोना’


देवबहादुर कुँवर

काठमाडौँ, जेठ २० गते । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् ।
‘‘खानपान र व्यायामले नै कोरोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले खुसी हुुँदै सुुनाउनुुभयो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) र जवान गरी दुईजनामा ११ दिनअघि कोरोना संक्रमण देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी वलको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँहरूले खानपान र व्यायामबाटै कोरोनासँग युुद्ध जित्नुुभएको हो ।
अस्पताल बसाईको १० दिनपछि उहाँहरू घर फर्किनु भएको छ । हामीले तातोपानी, कालो चिया र शारीरिक ब्यायाम गरेर कोरोनालाई जितेको अनुुभव सुनाउनुभयो ।
‘‘रिपोर्ट पोजेटिभ आएको दिन तनाव भयो, अस्पतालमा भर्ना भइसक्दा पनि निद्रा नै परेन, आफैले आफैलाई ढाडस दिदै साता दिनमै कोरोना जित्नु पर्छ भन्ने उच्चमनोवलका साथ बस्दा पहिलो रिपोर्ट नेगेटिभ आएपछि आशा पलायो’’, नायव निरीक्षकको भनाइ छ ।
सशस्त्र प्रहरी अस्पतालका चिकित्सक प्रहरी उपरीक्षक प्रवीन नेपालले प्रायः विरामीमा लक्षण नदेखिने भएकाले अरू औंषधि चलाउनुु पर्ने अवस्था नआएको बताउनुहुन्छ । अस्पतालमा भर्ना भएका १६ जना मध्ये चारजना सुरक्षाकर्मी र एक सर्वसाधारण निको भएर फर्किसकेका छन् ।
नेपाली सेनाका उपरथी, सैनिक चिकित्सक शुक्रवार र प्रहरीका सई र जवान शनिवार घर फर्किनु भएको हो । सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, नियमित ब्यायम, मरिच, टिमुर, अदुवा हालेको चिया र गुर्जो खाएर रोगलाई जितेको बताएका हुन ।
सरसफाईका अतिरिक्त नियमित ब्यायम, शुद्ध खाना, घरेलु जडिबुटी खान प्रोत्साहन गर्ने गरेको पाइएको छ । नियमित औषधि सेवन गरिरहेकाहरूलाई सोही औषधि र लक्षण देखिएकाहरूलाई लक्षणको प्रकृति अनुसार, औषधि सञ्चालन गर्ने गरेको जानकारी चिकित्सकले दिएका हुन ।

प्रहरी कार्यालयको सील खुल्यो
उहाँहरूमा कोरोना सङक्रमण पुष्टि भए लगत्तै सिल गरिएको कालीमाटी प्रहरी वृत्तमा कार्यरत २२५ जना प्रहरी कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवरले सील गरिएको वृत्तलगायतका कार्यालयहरू आइतवारबाट नियमित रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
नेपाली सेनाको आठ, प्रहरीको २०, सशस्त्र प्रहरीको चार र राष्ट्रिय अनुसनधान विभागको एकजना गरी ३३ जना सुरक्षाकर्मीमा कोरोना सङक्रमण देखिएकोमा पाँचजना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणको अग्रस्थानमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?