logo
२०८० चैत्र १६ शुक्रवार



सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

प्रदेश |


सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि


सन्तोष सुवेदी
सिरहा, जेठ १४ गते । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभएको हो । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थाल्नुभएको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

‘अझ पनि धेरै जनाको टेष्टको प्रतिवेदन आउन बाँकी नै छ’, प्रजिअ गुरागाईंले भन्नुभयाे, 'अब अहिलेलाई सङ्क्रमित भएकाहरूको नजिकका सुरक्षाकर्मीहरूलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ ।' 

सिरहामा योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ८ पुगेको छ । कोरोना सङ्क्रमित बढ्दै गएपछि मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरीक्षक चतुर्वेदीसहित अधिकांश सुरक्षा अधिकृतहरूको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?