logo
२०८१ बैशाख १४ शुक्रवार



वीरगञ्जको आइसोलेसनमा नौ जनाको उपचार हुँदै, ९३ जना भए कोरोनामुक्त

फिचर |
प्रदेश |


वीरगञ्जको आइसोलेसनमा नौ जनाको उपचार हुँदै, ९३ जना भए कोरोनामुक्त


दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १४ गते । गत वैशाख ३० गते एकै दिन ५७ जना सङ्क्रमित भेटिएपछि कारोना सङ्क्रमणको केन्द्रविन्दु बनेको वीरगञ्जमा अहिले नाै सङ्क्रमितको उपचार भइरहेको छ भने ९३ जना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।

चैत २९ गते वीरगञ्जमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सङ्क्रमितलाई आइसोलेसनमा राखी उपचार सुरु गरिएपछि कुल १०२ जना सङ्क्रमितको उपचार भइरहेको थियो भने वैशाख १४ गते, जेठ १०, ११, १२, १३ गते गरी कुल ९३ जना सङ्क्रमित निको भई डिस्चार्ज भएकाले हाल उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या नाै रहेको हो ।
वैशाख १४ गते चार जना, जेठ १० गते नाै जना, ११ गते १८ जना, १२ गते ४३ जना, १३ गते २१ जना डिस्चार्ज गरिएका थिए भने वैशाख १४ गते डिस्चार्ज गरिएका दुई जनालाई पुनः सङ्क्रमण देखिएपछि फेरि अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

वीरगञ्जको नारायणी अस्पताल र गण्डक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकामध्ये मङ्गलबार साँझसम्म ९३ जना कोरोना मुक्त भई डिस्चार्ज भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा सङ्क्रमण पुष्टि कम र निको भएर घर फर्किनेको सङ्ख्या बढेको, गण्डक अस्पतालको आइसोलेसनमा रहेका नाै जनामध्ये पाँच जना नयाँ सङ्क्रमित रहेको डा. उपाध्यायले बताउनुभयो । उता नारायणी अस्पतालका सबै सङ्क्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

अहिलेसम्म पर्साबाट दुई हजार जनाको पीसीआर परीक्षण भइसकेको र करिब २०० जनाको रिपोर्ट आउन बाँकी रहेको डा. उपाध्यायले जानकारीे दिनुभयो । पर्साको ठोरी र नेशनल मेडिकल कजेलबाट लिइएको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको हो ।

कोरोना सङ्क्रमितको उपचार थालेयता अन्य बिरामीको उपचार गर्न छाडेको नारायणी अस्पतालले अब कोरोनाबाहेक अन्य बिरामीको उपचार गर्न दिने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?