logo
२०८१ बैशाख ७ शुक्रवार



बाँकेमा २८ सयको पीसीआर परीक्षण, नरैनापुरलाई विशेष प्राथमिकता

फिचर |
प्रदेश |


बाँकेमा २८ सयको पीसीआर परीक्षण, नरैनापुरलाई विशेष प्राथमिकता


सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, जेठ १४ गते । बाँके जिल्लामा कोरोना भाइरस सङ्क्रमितहरू बढ्दै गएपछि परीक्षणको दायरालाई बढाउँदै हालसम्म जिल्लाभरिमा दुई हजार ७४३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार सङ्क्रमित थपिंदै गएपछि परीक्षणलाई तीव्र पारिएकोमा हालसम्म पीसीआरबाट गरिएका दुई हजार ७४३ जनाको परीक्षणबाट १५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने दुई हजार ३७० जनाको रिपोर्ट नगेटिभ आएको छ ।

साथै, २१९ जनाको स्वाब अझै भेरी अस्पतालमा परीक्षणको क्रममा रहेको जनाउँदै बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले हालसम्म २२ जना निको भएर घर फर्किसकेको र एक जनाकाे मृत्यु भएको बताउनुभयो । बाँकेमा हालसम्म एक हजार २४५ जनाको आरडीटीबाट समेत परीक्षण गरिएको उहाँले बताउनुभयो ।

गत वैशाख १९ गते पहिलो पटक नेपालगञ्ज- ७ का एक जना ६० वर्षीय वृद्धमा देखिएको सङ्क्रमणपछि उनको सम्पर्कमा रहेका २४ जना नेपालगञ्ज -८ को एउटै क्षेत्रमा सङ्क्रमित फेला परेका थिए ।

त्यसपछि नरैनापुरमा सबैभन्दा बढी हालसम्म ११४ जना सङ्क्रमित भेटिएका छन् भने राप्तीसोनारी र डुडुवामा ६/६ जना, खजुरामा २ जना र बैजनाथमा एक जना सङ्क्रमित फेला परिसकेका छन् । कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा हालसम्म फेला परेका सङ्क्रमितहरूमध्ये खजुरा विशेष कोरोना अस्पपतालमा १० जना, लायन्स डेन्टल अस्पतालमा २२ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसन अस्पतालमा ४१ जना, कोहलपुरको पिपरीमा ४१ जना, राप्तीसोनारी र डुडुवाको आइसोलेसनमा ४–४ जना, बैजनाथमा एक जना र दाङको बेलझुन्डी अस्पतालमा ८ जनाको उपचार भैरहेको छ ।

नरैनापुरलार्ई विशेष प्राथमिकता
बाँकेमा सबैभन्दा बढी सङ्क्रमित देखिएर कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकालाई सरकारले विशेष प्राथमिकता दिएर परीक्षण लगायत अन्य कामलाई अगाडि बढाएको छ ।

नरैनापुरमा रहेका क्वारेन्टाइनमा भारतको मुम्बईबाट आएर बसेकाहरूमा नै सङ्क्रमण बढी देखिएपछि क्वारेन्टाइनमा रहेका सबै ७९६ जनाको पीसीआर परीक्षण गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । सोही क्रममा ११४ जना पोजेटिभ भेटिएका थिए ।

काठमाडाैँबाट आएका चिकित्सकहरूको विशेष टोलीले सो बारेमा अनुसन्धान गरिरहेको जनाउँदै गाउँपपालिकाका प्रमुख ईश्तियाक अहमद शाहले नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरेर सेना सेमत परिचालन गरेर परीक्षणको दायरा बढाउँदै कन्टयाक्ट ट्रेसिङको काम पनि शुरु गरिएको बताउनुभयो ।

उहाँले नरैनापुरमा रहेका क्वारेन्टाइनको अवस्था दयनिय रहेकोले केन्द्र र प्रदेश सरकारको सहयोग मागिएको बताउनुभयो । उहाँले सो क्षेत्रमा विद्युत तत्काल पुरयाउन पनि माग गरिएको बताउनुभयो ।

नरैनापुरको लक्ष्मणपुरमा रहेको स्वास्थ्य केन्द्रमा दिनभरि बस्ने र बेलुका नेपालगञ्ज फर्किने गरी जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली खटाइएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाका ७० क्वारेन्टाइनमा दुई हजार ७४३ जना छन्
बाँकेका ८ वटै स्थानीय तहहरूमा निर्माण गरिएका ७० वटा क्वारेन्टाइनमा अझै पनि दुई हजार ७४३ जनालाई राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट फर्किनेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्वारेन्टाइन निर्माणको क्रम वृद्धि हुनुका साथै त्यहाँ बस्नेकाे सङ्ख्या पनि बढ्दै गएको फोकल पसर्न श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?