logo
२०८० चैत्र १६ शुक्रवार



हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण उपचारका लागि भरतपुर पठाइयो

पढ्नै पर्ने |
फिचर |


हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण उपचारका लागि भरतपुर पठाइयो


राममणि दाहाल
हेटौँडा, जेठ १४ गते । मकवानपुरमा पहिलो पटक एक जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । हेटौँडा उपमहानगरपालिका - १ चौकीटोल क्षेत्रका २५ वर्षीया महिलामा कोभिड १९ (कोरोना भाइरस) पुष्टि भएको हो ।

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता पुरुषोत्तमराज सेढाइँका अनुसारका अनुसार कीटजन्य रोग अनुसान्धान तथा तालिम केन्द्र, हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा कोभिड - १९ पहिचान गर्न प्राप्त स्वाबको नमुनाको बुधबार आरटी–पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो ।

उहाँले ती महिला कार्यालयको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । सङ्क्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी र पृथकीकरण गर्ने कार्य प्रदेश स्वास्थ्य आतकालीन केन्द्रमार्फत भइरहेको छ ।

कामको क्रममा चितवन आउने जाने गर्दैआएका ती महिला हाल घरमा नै रहनुभएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले ती महिलालाई उपचारका लागि भरतपुर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती सङ्क्रमित महिलाको घरसहित वरपरको बस्ती सिल गरिएको छ । स्थानीयलाई घरबाट ननिस्कन र एक घरबाट अर्को घरमा नजान आग्रह गरिएको वडध्यक्ष न्यौपाने बताउनुभयो ।

योसहित मकवानपुरका चार जनामा कोरोना सङ्क्रमण भएको छ । अन्य तीन जनाको जिल्ला बाहिर पीसीआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । यसअघि प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएका बारा जिल्ला सिम्रनगढ नगरपालिकाका ५० स्वाबमध्ये छ वटामा र जेठ १२ गते २१ वटामा नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रादेशिक प्रयोगशाला हेटौँडामा मङ्गलबार दिउँसोसम्म प्राप्त १५३ नमुनासहित हालसम्म परीक्षणका लागि एक हजार ४३६ स्वाबका नमुना प्राप्त भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?