logo
२०८१ बैशाख ८ शनिवार



सुर्खेतमा तीन जनालाई कोरोना सङ्क्रमण, कर्णालीमा चार पुग्यो

फिचर |
खुला |


सुर्खेतमा तीन जनालाई कोरोना सङ्क्रमण, कर्णालीमा चार पुग्यो
सुर्खेतस्थित कोरोना विशेष अस्पताल । तस्बिरः ललित बसेल



ललित बसेल / मुना हमाल
सुर्खेत, जेठ १० गते । भारतबाट आउनेहरूले कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम बढाएको छ । गत बिहीबार भारतबाट आएकामध्ये सुर्खेतका तीन जनामा शनिबार कोरोना पोजिटिभ देखिएपछि सङ्क्रमण बढ्दैजाने जोखिम बढेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतका अनुसार गत बिहीबार भारतबाट आएका ७९० जनालाई सुर्खेतको सीमा नाका बबईमा आरडिटी परीक्षण गर्दा १३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । पोजेटिभ देखिएका उनीहरूलाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखिएको थियो । जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले शुक्रबार प्रदेश अस्पतालमा पिसिआर परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र पुनः परीक्षणका लागि नेपालगन्ज पठाउँदा त्यहाँ पनि पोजिटिभ देखिएको बताउनुभयो ।

उहाँका अनुसार पोजेटिभ देखिएका सुर्खेतका तीन जनामध्ये बराहताल गाउँपालिकाका दुई जना र चौकुने गाउँपालिकाका एक जना रहेका छन् । जनस्वास्थ्य प्रमुख वाग्लेले पोजिटिभ देखिएका तीनै जनालाई प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारमा चिकित्सकहरूको निगरानीमा राखिएको र अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

यसअघि दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई पनि सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ । योसहित कर्णालीमा कोरोना पोजेटिभको सङ्ख्या चार पुगेको छ ।

भारतबाट करिब २० हजार कर्णालीबासी फर्कनसक्ने अनुमान प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश अस्पतालमै आयोजित एक कार्यक्रममा भारतमा ८० हजार कर्णालीवासी रहेको र अहिले करिब २० हजार फर्कन सक्ने भएकोले प्रदेश सरकारले उनीहरूको व्यवस्थापन, उपचारमा लागेको बताउनुभएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?