logo
२०८१ बैशाख ४ मंगलवार



सप्तरीका सङ्क्रमितको गाउँ सिल, सङ्क्रमित भारतको हरियाणाबाट आएका थिए

फिचर |
प्रदेश |


सप्तरीका सङ्क्रमितको गाउँ सिल, सङ्क्रमित भारतको हरियाणाबाट आएका थिए


धीरेन्द्रप्रसाद साह
राजविराज, जेठ १० गते । सप्तरीमा थप एक ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिले नयाँ सङ्क्रमितको गाउँ जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेलही गाउँलाई शुक्रबार रातिदेखि नै सिल गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो ।
सङ्क्रमितको यात्रा वृतान्त
वैशाख २९ गते लुकीछिपी भारतको हरियाणाबाट सङ्क्रमित युवक, उनको श्रीमती र भाइ घर आइपुगेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । त्यहाँ मजदुरी गरी गुजारा गर्दैआएका उनीहरू लकडाउन भएपछि घर फर्किएको बताइएको छ । घरमा बस्दा आमा र आफन्तसँग सम्पर्कमा आउनुको साथै सङ्क्रमितले प्रयोग गर्दै आएको मोबाइल पनि परिवारका अन्य सदस्य तथा आफन्तले चलाएको प्रारम्भिक कन्ट्याक्ट ट्रेसिङ्गमा पाएको उहाँले बताउनुभयाे । भन्नुभयो, 'सङ्क्रमितले अझै सही कुरा राम्रोसँग बताएका छैनन्, उनको कुरामा शङ्का लागेको छ । त्यसले गर्दा कन्ट्याक्ट ट्रेसिङ्गमा समस्या भइरहेको छ । उनको गाउँमै गएर थप कन्ट्याक्ट ट्रेसिङ्ग गर्न लागेका छौँ ।'
भारतकाे बिहार राज्यको लौकही बजारसँगैको बेलही गाउँ उनीहरू सीमामा खटिएका सुरक्षाकर्मीलाई छलेर लुकीछिपी घर आइपुगेको बलानबिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनुभयो । उनीहरू गाउँ आएको थाहा पाएपछि भोलिपल्ट ३० गते गाउँकै राप्राविमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।
श्रीमतीको रिपोर्ट नेगेटिभ
स्वास्थ्य कार्यालयको टोलीले चार दिनअघि उनको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । सो परीक्षणमा युवकको पोजेटिभ रिपोर्ट आएको छ भने श्रीमतीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै स्वास्थ्य कार्यालयका निमित्ति प्रमुख यादवले उनको श्रीमतीको फेरी स्वाब परीक्षण गरिने बताउनुभयो ।
क्वारेन्टाइनमा ४० जनासँग बसेका थिए 
बलान बिहुल गाउँपालिका ४ बेलहीको क्वारेन्टाइनमा ४० जनासँगै सङ्क्रमित युवक पनि बसेका थिए । तीमध्ये सङ्क्रमित बसेको कोठामा १० जना रहेको बताइएको छ । क्वारेन्टाइनमा बसेका र सङ्क्रमितको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गएराति कोरोना पुष्टि भएलगतै सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । सङ्क्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि सामान्य खोकी लागिरहेको उहाँले जानकारी दिनुभयो ।
बीपीले स्वाब लिन अस्वीकार
पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाउँदै आएकोमा अबदेखि स्वाब नपठाउन त्यहाँबाट खबर प्राप्त भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । धरानमा स्वाबको धेरै चाप रहेकोले भ्याउन नसकिरहेको भन्दै सम्पर्क गरेर मात्र स्वाब पठाउन खबर आएको उहाँले बताउनुभयो ।
धरानले स्वाब नलिने भएपछि विराटनगर र हेटौँडामा सम्पर्क भइरहेको छ उहाँले भन्नुभयो, त्यहाँपनि भएन भने काठमाण्डौँस्थित टेकुमै पठाउनुपर्ने बाध्यता आएको छ ।
पहिलो सङ्क्रमितको अवस्था सामान्य
यसअघि गत वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका नम्बर ३ हटेलका एक १८ वर्षीय युवकमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा. दासले जानकारी दिनुभयो । चाैध दिन पूरा भएपछि उनको फेरि स्वाब परीक्षण गर्ने निर्णय भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?