logo
२०८० चैत्र १६ शुक्रवार



उदयपुरका स्थानीय तहद्वारा कोरोना परीक्षणका लागि आठहजार भीटीएम किन्ने तयारी

फिचर |
प्रदेश |


उदयपुरका स्थानीय तहद्वारा कोरोना परीक्षणका लागि आठहजार भीटीएम किन्ने तयारी


गाईघाट समाचारदाता
गाईघाट, जेठ १० गते । उदयपुरका आठ वटै स्थानीय तहहरूले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि चाहिने (भाइरल ट्रान्सफर मिडियम) भीटीएम किन्ने तयारी गरेका छन् । जिल्लामा भिटीएम अभाव भएपछि स्वाबको नमुना सङ्कलन र परीक्षणको काम रोकिएपछि पालिकाहरू आ–आफैँले करिव ३७ लाख मूल्यको आठ हजार थान भिटीएम किन्ने तयारी गरेका हुन् ।

वैशाख महिनासम्म देशकै अग्रभागमा रहेको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३, भुल्के र आसपासका क्षेत्रलगायत जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रमा पिसिआर परीक्षणलाई व्यापक बनाउन कटारी, त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिका तथा रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकाले पाँच/पाँच लाख रकम खर्चेर भिटिएम किन्ने तयारी गरेको त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले बताउनुभयो ।

भीटीएम अभावकै कारण जेठ ३ गते यता उदयपुरमा स्वाब सङ्कलन र परीक्षणको कार्य अगाडि बढ्न नसकेकोे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयमा हाल एक थान मात्र भीटीएम बाँकी छ । तर अब दुई दिनभित्रमा पालिकाहरूले आठ हजार बढी भीटीएम ल्याउन लागेकोले उदयपुरमा कोरोना परीक्षणको दायरा फराकिलो हुने स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीले बताउनुभयो ।

हालसम्म भुल्के क्षेत्रमा ३२ र त्रिनपा ११ गाईघाटमा एक गरी ३३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । परीक्षणले तीव्रता नपाउँदा जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् । एउटा बस्ती र समुदायबाट अर्को बस्ती र समुदायमा कोरोना सङ्क्रमण फैलँदासमेत स्वाब परीक्षणको दायरालाई फराकिलो बनाउन नसक्नु सरकारको कमजोरी रहेको नेपाली काँग्रेसका नेता तथा त्रियुगा नगरपालिकाका छायाँ सरकार प्रमुख बसन्त बस्नेतले बताउनुभयो ।

अब केही दिनभित्रै जिल्लाका सात वटा पालिकामा प्रतिपालिका ११ सय थान र लिम्चुङ्बुङ गाउँपालिकामा भने दुई लाख ५० हजार रुपियाँको खर्चमा पाँच सय ५५ थान गरी जिल्लामा आठ हजार दुई सय थानभन्दा बढी भिटिएम आउन लागेको स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महामारीको सङ्कटमा जनताले विकास चाहेका छैनन्, आफ्नो स्वास्थ्य ठिक होस् भन्ने छ, त्यसैले विकास निर्माणभन्दा जनताको स्वास्थ्यमा केन्द्रित रहेर काम गर्नु अहिलेको आवश्यकता रहेको र सङ्क्रमितसँग सम्पर्कमा आएका सबैको परीक्षण गर्न स्थानीयले माग गरेकोले सबै स्थानीय तहहरूलाई नै भिटिएमको तत्काल जोहो गर्न अनुरोध गरिएकाे हाे ।'

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?