logo
२०८१ बैशाख १२ बुधवार



खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

प्रदेश |


खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे


ध्यान कुलुङ
सङ्खुवासभा, जेठ ९ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका  ३२ वर्षकी गङ्गा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गर्भवती कार्की घरमै बिरामी भएपछि एक हप्ताअघि खाँदबारी अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि जिल्ला अस्पताल खाँदबारीले विराटनगर पठाएको थियो । विराटनगरको नोबेल अस्पतालमा मृत्यु भइसकेको बच्चा निकालिएपछि कार्कीलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचार खर्च नभएपछि परिवारले घर फर्काएको उक्त सुत्केरीलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

खाँदबारी अस्पताल आउँदा कार्कीको उच्च रक्तचाप, पिसाबमा सङ्क्रमणलगायत समस्या भएकोले बाहिर रेफर गर्नु परेको खाँदबारी अस्पतालका व्यवस्थापक दिपेश श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्थ्याे तर खाँदबारी अस्पतालमा त्यस्तो व्यवस्था छैन’, श्रेष्ठले भन्नुभयो । खर्च अभावको कारण विराटनगरको अस्पतालबाट फेरि जिल्ला अस्पताल फर्काएपछि हेलिकप्टरबाट उद्धार गरिएको श्रेष्ठको भनाइ छ ।

कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट निःशुल्क काठमाडौँ पठाइएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । यस कार्यक्रममा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई सेवा प्रदान गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?