logo
२०८१ बैशाख ८ शनिवार



सप्तरीका सङ्क्रमितको गाउँ सिलबन्दी, सम्पर्ककाे खोजी

पढ्नै पर्ने |
प्रदेश |


सप्तरीका सङ्क्रमितको गाउँ सिलबन्दी,  सम्पर्ककाे खोजी


धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख ३० गते । एक युवकमा कोरोना सङ्क्रमित भेटिएपछि उनको गाउँ सप्तरीको हटेललाई सिलबन्दी गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको हिजो सोमबार साँझ बसेको बैठकले सङ्क्रमितको गाउँ जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो ।

सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग, क्लोज कन्ट्याक्टमा आएका व्यक्ति, सम्भावित अन्य व्यक्तिको स्वाब संकलन गरी पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म उक्त टोल सिलबन्दी रहने उहाँले बताउनुभयो । गएराति देखि नै टोलमा नेपाली सेना, प्रहरी परिचालन गरी कन्ट्याक्ट ट्रेसिङ्ग कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

पीसीआर रिपोर्ट आउनु एक दिनअगाडि क्वारेन्टाइनबाट घर फर्किएका सङ्क्रमितको सीधा सम्पर्कमा आएका आमा, बाबा, भाइ र एक जना साथीसहित चार जनालाई सोमबार साँझ नै डाक्नेश्वरीको पातो स्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । लकडाउनको समयमा गत बैशाख ९ गते १३ जनाको समूहमा चितवनबाट जिल्ला आएलगत्तै सबै जनालाई कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । बैशाख २५ गते सङ्क्रमित युवकसहित सात जनाको स्वाब सङ्कलन र छ जनाको आरडीटी परीक्षण गरिएको थियो । ती सात जनाको स्वाब रिपोर्ट नआउँदै युवकसहितलाई २८ गते घर पठाइएको थियो ।

याे पनि पढ्नुहाेस्

सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए 

युवकको सीधा सम्पर्कमा आएका पारिवारिक सदस्य, आफन्त, साथीसहित घुलमिल भएको व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा मंगलबारदेखि पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य सुरु गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिनुभयो । सङ्क्रमित युवक क्वारेन्टाइनमा बसेको अवधिभित्रका सम्पूर्ण मानिस, क्वारेन्टाइनबाट घर फर्किएपछि सीधा र नजिक सम्पर्कमा आएका मानिस, घरपरिवारका सदस्य, क्वारेन्टाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका गरी करिब २०० जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्नुपर्ने अति आवश्यक रहेको उहाँले भन्नुभयो, तर हामीसँग स्वाब संकलनका लागि चाहिने भीटीएम किट पर्याप्त छैन । अहिले ८६ वटा किट मात्र मौज्दात रहेको छ । त्यसमध्ये इमरजेन्सीका लागि केही राख्नु पर्ने हुँदा थप किट प्राप्त नभएमा आज मंगलबार ८६ भन्दा कम मानिसको मात्र स्वाब संकलन हुने बताउनुभयो ।

सिलबन्दी गरिएको हटेल केन्द्रित गाउँमा मंगलबार बिहानबाट गरिरहेको स्वाब संकलन कार्यमा सहयोग गर्न, बस्तीकाे अध्ययन अवलोकन गर्न प्रदेश २ का सामाजिक विकास मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालय जनकपुरधामबाट समेत स्वास्थ्यकर्मीको टोली आउन लागेको उहाँले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

सप्तरीमा एक पुरुषमा कोरोना पुष्टि, कुल १२१  

जिल्लामा भेटिएको सङ्क्रमित युवकलाई सोमबारै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अपस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र युवामा कोरोना संक्रमणको कुनै प्रकारको लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयाे ।
युवक बसेको क्वारेन्टाइनमा मंगलबार बिहानसम्म छ महिला र १० पुरुष गरी १६ जना रहेका छन् । तीमध्ये सङ्क्रमित युवकको सीधा सम्पर्कमा आएका चार जना रहेका छन् । उनीरूरुलाई हिजो साँझ अस्पताल भर्ना गरिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?