logo
२०८१ बैशाख १२ बुधवार



कोरियामा कोरोना सामूहिक सङ्क्रमण, फेरि त्रास, क्लब र बार बन्द

फिचर |
अन्तर्राष्ट्रिय |


कोरियामा कोरोना सामूहिक सङ्क्रमण, फेरि त्रास, क्लब र बार बन्द


सियोल, वैशाख २८ गते। कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस सङ्क्रमणकाे  दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नुभएको छ ।
भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गर्नु भएको छ । गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
सियोलका मेयर पार्क वोन–सूनले सानो असावधानीले सङ्क्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताउनुभयो । सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ । इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ ।
आइतबार भेटिएका ३४ जना नयाँ संक्रमितमध्ये २४ जना इताओनका मनोरंजन स्थलहरुमा पुगेका व्यक्ति रहेका कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसिडिसी) ले जनाएको छ । दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मूख भइरहेका बखत नयाँ संक्रमण देखिएको छ । सरकारले पनि गत बुधबारदेखि सामाजिक दूरीसम्बन्धी नियमलाई खुकुलो बनाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?