logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित हुने

स्वास्थ्य |
पढ्नै पर्ने |


कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित हुने


इश्वरचन्द्र झा
काठमाडौं, चैत्त १५ गते । कोरोना भाइरसको संक्रमण विश्वका करिब २०१ राष्ट्रमा फैलेको छ । २४ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या करिब छ लाख पुगेको छ । अमेरिका मात्रैमा एक लाख संक्रमित भएका छन् । रोग के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? सर्वसाधारण कतिबेला संक्रमित हुन्छ ?
आफूलाई कसरी सुरक्षित राख्ने ?
संक्रमण रोक्ने सबैभन्दा उत्तम उपाय नियमित रुपले हात धुनु हो । साबुन–पानीले हात धुनु सबैभन्दा उपयुक्त हुनेछ ।
संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा हावामा निस्किने भाइरससहितको थोपाबाट कोरोना भाइरसको संक्रमण फैल्छ । उक्त थोपामा रहेका भाइरस श्वासप्रश्वासको माध्यमले भित्र जाँदा वा थोपा खसेको सतहमा छोएर नाक, मुख वा आँखाको सम्पर्कमा आए भाइरसको संक्रमण फैल्ने जोखिम बढी हुन्छ ।
त्यसैले, हाछ्युँ गर्दा वा खोक्दा टिस्यु पेपरले मुख ढाक्ने, साबुन–पानीले हात धोएर मात्रै आँखा, मुख वा नाक छुने र संक्रमित व्यक्तिबाट टाढा रहनु नै उत्तम हुनेछ । चिकित्सकीय विज्ञहरुका अनुसार अनुहारमा लगाइने माश्क प्रभावकारी सुरक्षा गर्दैन् ।
कोरोना भाइरसको लक्षण के के हुन ?
कोरोना भाइरसले फोक्सोमा संक्रमण ल्याउँछ । भाइरस संक्रमणको लक्षण खोकीसँगै ज्वरोबाट सुरु हुन्छ । र पछि श्वास लिन समस्या निम्त्याउँछ ।
कोरोना भाइरसको संक्रमित भए एक घण्टाभन्दा बढी समयसम्म निरन्तर खोकी लागिरहन्छ । संक्रमित भएको अवस्थामा २४ घण्टामा तीनदेखि चार भागमा खोकी लागिरहन्छ । जुन सामान्यरुपमा आउने खोकीभन्दा जटिल हुनसक्छ ।
वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको संक्रमित भएको पाँचौंदिनमा मात्रै लक्षण देखिन सक्छ । तर केही व्यक्तिमा भने पाँच दिनपछि पनि लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य संगठनले भने संक्रमण अवधि १४ दिनसम्म रहने निर्धारण गरेको छ ।
बेलायतका अनुसन्धानकत्र्ता एवम् विज्ञहरुले कोरोना भाइरसको संक्रमित भए एनोस्मिया (गन्ध पाउन अप्ठ्यारो हुने अवस्था) आउने सुझाउँछन् । सामाजिक सञ्जालमा पनि व्यक्तिले गन्ध र स्वाद छुट्याउन नसकिएको जनाएका छन् । यसरी धारणा राख्ने अधिकांशमा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । हुनत रुघाखोकी लाग्दा स्वाद र गन्ध नपाउनु सामान्य जस्तै हो ।
लक्षण देखिएको बेला संक्रमितबाट सर्वसाधारणमा संक्रमण फैल्ने सम्भावना बढी हुन्छ । तर विज्ञले लक्षण देखिनु अघि नै बिरामीले संक्रमण फैलाउन सक्ने बताएका छन् । सुरुवाती लक्षण मौसम परिवर्तन भएपछि आउने फ्लु, रुघाखोकी र ज्वरो जस्तै हुने हुनाले कोभिड–१९ को संक्रमित नै भएको छुट्याउन गाह्रो हुन्छ ।
कोरोना भाइरस कत्तिको खतरनाक छ ?
कोभिड–१९ को संक्रमणपछि मृत्यु हुने दर निकै नै कम छ । करिब एक देखि दुई प्रतिशत संक्रमितको मृत्यु हुने सम्भावना छ । यद्दपी उक्त तथ्याङ्क भरपर्दो देखिन्न । इटालीमा ८० हजार व्यक्ति संक्रमित हुँदा करिब नौ हजारको मृत्यु भइसकेको छ । जसको मृत्युदर दश प्रतिशतभन्दा बढी हो ।
हजारों व्यक्ति उपचारको क्रममा छन्, मृत्युसम्म पुग्न सक्छ, त्यसैले यथार्थ मृत्युदर पछि मात्रै पुष्टि हुनेछन् । विश्व स्वास्थ्य संगठनले जमा गरेको करिब ५६ हजार संक्रमितको तथ्याङ्कले उल्लेखित सुझाब दिन्छ –
– छ प्रतिशत जटिलरुपमा बिरामी भएका छन्, जसमा फोक्सो असफल हुनु, अङ्ग काम नलाग्ने हुनु र मृत्युको जोखिम छन् ।
– १४ प्रतिशतमा श्वास लिन समस्या भएको र छिटोछिटो श्वास लिएको पाइएको छ ।
– ८० प्रतिशतमा सुख्खा खोकी र ज्वरोसँगै निमोनिया ठहर गरिएको छ ।
आस्थमा, हृदय रोग, डायबिटिज, उच्च रक्तचापको बिरामी भएका वृद्धमा कोभिड–१९ को संक्रमण जटिल अवस्था ल्याउन सक्छ । चीनबाट संकलित तथ्याङ्कले पनि महिला वृद्धभन्दा पुरुषमा मृत्युको सम्भावना बढी देखाउँछ ।
श्वास लिन सघाउने उपकरण जडान गरेर भाइरस विरुद्ध पूर्णरुपमा लड्न सक्षम हुने प्रतिरोध क्षमता विकास हुञ्जेलसम्म बिरामीलाई उपचारकै क्रममा राखिन्छ ।
संक्रमित भएको शङ्का भएमा के गर्ने ?
शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियसभन्दा माथि भएमा घरमा कम्तिमा सात दिनसम्म आइसोलेशनमा बस्नु उपयुक्त हुन्छ । उक्त अवस्था निरन्तर देखिएमा वा अवस्था अझै जटिल हुने सम्भावना बढेमा कोभिड–१९ परीक्षणको लागि सरकारले निर्धारण गरेको स्वास्थ्य संस्थामा परीक्षण गराउनु राम्रो हुनेछ ।
कति छिटो फैलिन्छ ?
प्रत्येक दिन विश्वभरि लाखौं नयाँ संक्रमित थपिने क्रम बढेको छ । यद्दपी, स्वास्थ्य निकाय थुप्रै संक्रमितबारे अनविज्ञ छन् । वा संक्रमित व्यक्तिको परीक्षण भएको छैन् ।
चीनमा डिसेम्बर अन्तिम साता पहिलो पटक कोभिड–१९ को संक्रमण प्रकाशमा आएको थियो । ६७ दिनमा पहिलो एक लाख व्यक्ति संक्रमित भए । दोस्रो एक लाख व्यक्तिसम्म कोभिड–१९ पुग्न एघार दिन पर्याप्त भयो । तेस्रो एक लाख व्यक्ति संक्रमित हुन चार दिन मात्रै लाग्दा चौथो एक लाख पुरा गर्न तीन दिन र पाँचौं एक लाख व्यक्ति दुई दिनमै संक्रमित भएका छन् ।
(बीबीसीका स्वास्थ्य सम्वाद्दाता जेम्स गल्लाघरले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?