logo
२०८० चैत्र १५ बिहीवार



रुकुममा सिस्नुको पाउडर उद्योग सञ्चालन

अर्थ |
खुला |


रुकुममा सिस्नुको पाउडर उद्योग सञ्चालन


सुरेन्द्र खत्री

रुकुम (पश्चिम), कात्तिक ४ गते । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा सिस्नुको पाउडर उद्योग सञ्चालनमा आएको छ । स्थानीय स्तरमा खेर गैरहेको अर्गानिक सिस्नुलाई पाउडर बनाएर बाहिर निर्यात गर्न मुसिकोट नगरपालिका –५ सेरीगाउँमा हिमालय सिस्नु पाउडर उद्योग सञ्चालनमा आएको हो ।

स्थानीय पाँचजना युवाहरुको सहभागितामा गठित हिमालयन बहुसेवा प्रालि मार्फत उद्योग सञ्चालन गरिएको हो । पाँचजनाको शेयरबाट करिब २१ लाख रुपियाँ लगानी गरी उद्योग सञ्चालन गरिएको उद्योगका व्यवस्थापक सुन्दर शर्माले जानकारी दिनुभयो ।

सिस्नुको बारी गाउँघरमा झाडीकै रुपमा त्यत्तिकै खेर गैरहेको अवस्थामा त्यसको सदुपयोग र प्रशोद्धन गरी पाउडर बनाएर आयआर्जन गर्नका लागि उद्योग सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘यहाँ सिस्नु त्यत्तिकै खेर गैरहेको छ ।’ उहाँले भन्नुभयो,‘बाहिर यसको महत्व र माग उत्तिकै बढि भएकोले यसको सुरुवात गरेका छौँ ।’

उद्योग स्थापना भएको १५ दिनमा ६५ केजी सिस्नुको पाउडर उत्पादन गरिएको र प्रतिकेजी पाँचसय ५० रुपियाँका दरले विक्री भैरहेको शर्माले जानकारी दिनुभयो । सदरमुकाम नजिकैका स्थानहरु साँख, भलाक्चा, माछिमी, स्यालापाखा लगायतका क्षेत्रबाट ताजा सिस्नु ल्याएर त्यसलाई राम्रोसँग धोएर सुकाएपछि धुलो बनाउन तीन÷चार दिनमा तयार हुने गर्दछ ।

उद्योगमा अहिले सिस्नु प्रशोधनका लागि चारवटा मेसिनहरु रहेका छन् । तीनजना व्यक्तिहरुले नियमित रोजगारी पाउनुका साथै ५/६ जना दैनिक ज्यालादारीमा समेत काम गर्ने गरेको व्यवस्थापक शर्माले बताउनुभयो । यहाँ उद्योग खुलेको थाहा पाएपछि काठमाडौँ, सुर्खेत लगायतका ठूला होटेलहरुबाट समेत सिस्नुको पाउडरको माग हुन थालेको उहाँको भनाइ छ ।

उद्योगमा अहिले सिस्नुको पाउडर मात्र उत्पादन भएपनि विस्तारै सिन्की, सुकाएको साग, अदुवाको धुलो लगायतका अर्गानिक उत्पादनको समेत विस्तार गर्ने योजना रहेको उद्योगले जनाएको छ । उद्योगबाट उत्पादित वस्तुहरुको बजार प्रवद्र्धनका लागि काठमाडौँ र सुर्खेतमा डिलर समेत स्थापना गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?