logo
२०८१ बैशाख ५ बुधवार



लमजुङको गाइखुरेमा क्यानोनिङकाे मज्जा (फाेटाे फिचर)

फिचर |
राजनीति |


लमजुङको गाइखुरेमा क्यानोनिङकाे मज्जा   (फाेटाे फिचर)


बेलिना थापा–
लमजुङ, भदौ ७ गते । बेंसीसहर नगरपालिका १ उदीपुर नजिकैको गाइखुरे झरनामा पहिलो पटक डोरीको माध्यमबाट पानीसँगै झरनाबाट झर्दा बेंसीसहर नगरपालिका ७ की सबनम तामाङ सुरुमा डराउनुभयो ।

करिब एकसय मिटर तल झरनाको फेदमा झरिसकेपछि भने उहाँले आनन्द महशुस गर्नुभयो । सेतो रङको हेलमेट, खुट्टामा कालो जुत्ता, कम्मरमा सुरक्षापेटी बाँधेर झरनाको टुप्पोमा पुगेपछि झर्ने क्रममा उहाँलाई फर्किन मन लाग्यो । ‘माथिबाट झर्न सुरु गर्दा निकै डराएँ । डोरी समातेर बिस्तारै तल झर्ने हिम्मत बढाएँ । सबैले झर्न सक्दा म किन नसक्ने भन्ने लाग्यो’ उहाँले भन्नुभयो, ‘म सफल भएँ । झरिसकेपछि छुट्टै आनन्द आयो । फेदबाट आफू झरेको ठाउँ हेरेपछि साहसिक काम गरेको अनुभव गरें ।’

चितवनबाट क्यानोनिङ गर्न आएका २९ वर्षीय किसान श्रेष्ठले यसअघि विभिन्न झरनामा क्यानोनिङ गरे पनि लमजुङको मेला महोत्सवमा भने पहिलोपटक आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो साहसिक पर्यटनका लागि खेलिने खेल मेरो लागि शौख हो । यस्ता किसिमका कार्यले आन्तरिक तथा बाह्य पर्यटनमा प्रवद्र्धन हुन्छ ।’

डुम्रे–बेंसीसहर सडकखण्डमा पर्ने मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशय नजिकै पर्ने गाईखुरे झरनामा शुक्रबार क्यानोनिङ गरिएको थियो । करिब सयमिटर अग्लो छहराबाट बगेको पानीमा डोरीको माध्यमबाट युवायुवती झर्दै गर्दा दर्शक दंग परेर हेरिरहेका थिए । बेंसीसहर नगरपालिका ७ का वसन्त अधिकारीले क्यानोनिङ हेर्दैै गर्दा डर लागेको बताउनुभयो । उहाँले भन्नुभयो–‘क्यानोनिङ भन्ने सुनेको थिएँ । आफ्नै आँखाले हेरियो । हेर्दा डर पनि लाग्यो । झर्नेहरु रमाउँदा रमाइलो पनि लाग्यो ।’

साहसिक खेल क्यानोनिङ गर्न सहभागीले तीनहजार रुपियाँ तिरेका थिए । बेंसीसहर नगरपालिकाको सहयोगमा वातावरण सुधार विकास अभियान बेंसीसहरले उक्त झरनामा प्रथम क्यानोनिङ महोत्सव गरेको अध्यक्ष ऋषि बस्नेतले बताउनुभयो ।

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले यसलाई सार्थक बनाउन, झरनालाई पर्यटकीय गन्तब्य बनाउन र स्थानीयको जीवनस्तर उकास्न न्यानोनिङ महोत्सव गरिएको उहाँले बताउनुभयो । महोत्सव शुक्रबार र शनिबार आयोजना गरिएको अर्का आयोजक लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताउनुभयो ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले लमजुङका विभिन्न ठाउँमा पर्यटन लोभ्याउने झरना रहेकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । गाईखुरे झरनामा बाह्रै महिना पानी बगाउन र पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले योजना अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले डीपीआर तयार पारेका छौं । साँढे ६ करोड लागत अनुमान गरेका छौं । यही भदौमा टेन्डर आह्वान हुन्छ । हामी गाइखुरेलाई व्यवस्थित गर्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?