logo
२०८० चैत्र १६ शुक्रवार



भगवान् शिवको गीतलाई युवापुस्ताले मन पराउँछन्

मनोरञ्जन |


भगवान् शिवको गीतलाई युवापुस्ताले मन पराउँछन्


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । गीतकार लोकराज अधिकारीले केही दिनअघि हिपहप टाइपको शिव भजन रेकर्ड गर्नुभएको छ । शिवरात्रिलाई लक्षित गरेर तयार पारिएको गीतमा योगेश काजी, सारिका घिमिरे र मेघ पौडेलको स्वर रहेको छ । गीतकार अधिकारीले यो गीत लेख्दा अन्य गीतको तुलनामा अलि फरक अनुभूति आफूले गरेको बताउनुभयो ।

लोकगीत, दोहोरी, आधुनिक, स्वदेश गान र चलचित्रका समेत गरी एक सय पचासभन्दा बढी गीत लेखिसक्नुभएका अधिकारीले भगवान् शिवसँग सम्बन्धित गीतलाई युवापुस्ताले मन पराउने र अग्रजले गाली नगर्ने बताउनुभयो । भजन भनेर परम्परागत भजन पनि होइन । केही दिनमा भिडियो सार्वजनिक गर्ने तयारी छ ।

अधिकारीका केही महिनाअघि ‘चिनी अमिलो’ र ‘राजनीति चल्दैन’ बोलका गीत सार्वजनिक भइसकेका छन् । अधिकारी दुई दशकदेखि नेपाली गीत गजल लेखनमा सक्रिय हुनुहुन्छ । उहाँको २०६७ सालमा बजारमा आएको अञ्जु पन्त र शिशिर योगीको स्वर रहेको ‘तिम्ले पराई ठानेपछि’ बोलको गीतले धेरै नै चर्चा पाएको थियो । त्यस्तै चलचित्र शत्रु गतेमा समावेश गीतकार अधिकारीको शब्द रहेको ‘रुपै मोहनी’ बोलको गीतले राम्रो चर्चा बटुलेको थियो ।

माधव चौधरी र शर्मिला गुरुङको स्वरमा रहेको ‘किन होला तिमी छेउ नहुँदा’ बोलको दोहोरी औपचारिक रूपमा रेकर्ड भएको अधिकारीको पहिलो गीत हो । गीतकार अधिकारीका ‘मर्छु बरु छट्पटीमा’ ‘फेरि एक हुन मिल्छ र’ ‘रुपौली रानी’ ‘जसो परे पर्ला’ ‘बाजा बजाउँदै’ ‘हेप्नी मलाई’ जस्ता दर्जनौँ सिर्जना दर्शकमाझ आइसकेका छन् ।

डिभोर्स र दरार नामक एकल गीति सङ्ग्रह सार्वजनिक गरेका अधिकारीको हैसियत नामक संयुक्त गजल सङ्ग्रह पनि प्रकाशित भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?