logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकी टोलीलाई हराउँदै एपिएफ सेमिफाइनमा

फुटबल |
खेलकुद |


अमेरिकी टोलीलाई हराउँदै एपिएफ सेमिफाइनमा


अर्जुन काफ्ले
पोखरा, माघ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब ‘आहा ! रारा गोल्ड कप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले विवाईएससी मिनेसोटाअमेरिकालाई ३–१ गोलले हरायो । पहिलो पटक ‘आहा ! रारा गोल्ड कप’ खेल्न नेपाल आएको अमेरिकी क्लबलाई १५ पटक खेल्दै चार पटक सेमिफाइन र एक पटक उपविजता बनेको एपिएफले सजिलै हरायो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुरुवाती अग्रता विवाईएससीले लिएको थियो । ४८औँ मिनेटमा मेगल पलफक्सकले गोलगर्दै पाहुना टोलीलाई सुरुवाती अग्रत दिलाउनुभयो । त्यसपछि ६९औं मिनेटमा एपिएफले आवास लामिछानेको पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । डिबक्सभित्र नबिन लामालाई गोलरक्षक दिनेश थापामगरले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।

८४औँ मिनेटमा वैकल्पिक खेलाडी रवि थिङले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा रविले ब्यक्तिगत दोस्रो गोल गर्दै एपएिफको सेमिफाइनल यात्रा पक्का बनाउनुभयो । म्यान अफ दि म्याच घोषित रविले आठ हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो ।

खेलपछि एपिएफका प्रशिक्षक कुमार थापाले रक्षकको कमजोरीले पहिलो गोल खाएपनि पछि खेलाडीले राम्रो खेलेको बताउनुभयो । ‘विदेशी खेलाडी भएकोले पहिलो हाफ खेल बुझ्न लाग्यो । खेल बुझेपछि दोस्रो हाफमा गोल निस्कियो र जित्यौँ पनि,’ थापाले भन्नुभयो ।

विवाईएससीका प्रशिक्षक प्रलयराज भण्डारीले रेफ्रीको गलत निर्णयका कारण हार खेपेको बताउनुभयो । ‘रेफ्रीले अफसाइड हुँदा नदिने । गोलरक्षको गल्तीलाई आधार मानेर पेनाल्टी दिनुनै हारको मुख्य आधार बन्यो,’ भण्डारीले भन्नुभयो । एपिएफले सेमिफाइनलमा सोमबार हुने संकटा र मछिन्द्रबीचको विजेतासँग खेल्नेछ । आइतबार मनाङ मर्स्याङ्दी  नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?