logo
२०८० चैत्र १५ बिहीवार



दार्चुलाको खलंगामा खानेपानी समस्या

खुला |
प्रदेश |


दार्चुलाको खलंगामा खानेपानी समस्या


लोकेन्द्र जोशी
दार्चुला, माघ ८ गते । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ मा खानेपानी समस्या भएको छ । गत पाँच दिनदेखि बजार क्षेत्रमा पानीको आपूर्ती बन्द भएपछि खानेपानीको हाहाकार भएको हो ।

सडक निर्माणकाक्रममा मालबेला क्षेत्रमा खानेपानीको लाईन अवरुद्ध भएको भएपनि अहिलेसम्म मर्मत नगरिदा खानेपानी आपुर्ती बन्द भएको स्थानीय खडक बडालले जानकारी दिनुभयो । पाँच दिनदेखि धारामा खानेपानी नआएपछि होटल व्यवसायी र आम उपभोक्ता समस्यामा परेका छन् ।

महाकाली नदीबाट बोकेर होटेलमा खानेपानीको व्यवस्थापन गर्नुपरेको होटल व्यवसायी दीपक बडूले बताउनुभयो । खलंगा बजारमा विगतदेखि नै खानेपानीको समस्या भोग्नुपरेको उपभोक्ताहरुको गुनासो छ । नगरबासीले खानेपानी माग गर्दै पटक पटक नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराए पनि खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् ।

धारामा पानी आएको दिनमा समेत आपूर्ती कम भएर खानेपानीको समस्या भोग्न बाध्य सेवाग्राहीहरु पाँच दिनसम्म एक थोपा पानी नआउँदा झनै समस्यामा परेको अर्का स्थानीय खेमराज जोशीले बताउनुभयो । पाँच दिनसम्म खानेपानी सूचारु गर्न महाकाली नगरपालिका लगायत सरोकारवाला निकायहरुले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा महाकाली नगरपालिकाकै गारखु मूलबाट खानेपानी ल्याएर वितरण गरिएको छ । बजार क्षेत्रमा मात्रै डेढ हजार घरधुरीले उक्त खानेपानी उपभोग गर्दैआएका छन् । हजारौँ मानिस खानेपानीबाट बञ्चित हुने अवस्था आएपछि शनिबार स्थानीयसहित नेकपा (एमाले) दार्चुलाको टोली खानेपानी अवरुद्ध भएको मालुबेला क्षेत्रमा पुगेर तत्काल खानेपानी सूचारु गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको एमाले दार्चुलाका उपसचिव खडक बडालले बताउनुभयो ।

आयोजना निर्माण हुँदै
दार्चुला सदरमुकाम खलंगामा खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि खलंगा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा चौबिसै घण्टा खानेपानीको सुविधा हुनेगरी आयोजना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । आयोजना अन्तर्गत खलंगामा दुई हजार २८६ खानेपानीका धारा निर्माण गर्ने योजना छ ।

एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम भइरहेको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो । आयोजना अन्तर्गत गल्फै, बीचबजार र बंगाबगड क्षेत्रमा पाइपलाइन खोदानको काम भएको छ ।

एक वर्षभित्रै खलंगाका बासिन्दालाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको इ–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजनल इन्जिनियर कुबेरबहादुर सिंहले जानकारी दिनुभयो ।

२९ करोड रुपियाँ लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत व्यहोर्ने र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी तथा स्थानीय जनश्रमदान पाँच प्रतिशत रहने बताइएको छ । खानेपानी संरचनासँगै महाकाली–५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालय समेत निर्माणाधीन अवस्थामा छ । आयोजना निर्माणको जिम्मा आसिस क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले पाएकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?