logo
२०८० चैत्र ६ मंगलवार



करोड बढी रुपियाँ लिएर म्यानपावर सञ्चालक फरार

खुला |
प्रदेश |


करोड बढी रुपियाँ लिएर म्यानपावर सञ्चालक फरार


गोविन्द शर्मा
बाँके, मङ्सिर १७ गते । युवाहरुलाई क्रोयसिया पठाइदिने भन्दै करोड रुपियाँ बढी रकम लिएर नेपालगञ्जबाट एक जना म्यानपावर सञ्चालक सम्पर्कविहिन भएका छन् । म्यानपावर सञ्चालक मङ्सिर १२ गतेदेखि फरार भएपछि ४० बढी युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गराएका छन् ।

युवाहरुलाई रकम दिएको तीन महिनाभित्र क्रोयसिया पठाइदिने भन्दै नेपालगञ्जको न्यूरोडमा कार्यालय रहेको हेलो ह्यूमन रिर्सोसेस प्रालिका बजारप्रबन्धक रविकुमार यादव सम्पर्कविहिन भएको उजुरीकर्ता युवाहरुले बताउनुभएको छ ।

यादव सम्पर्कविहिन भएपछि रकम बुझाएका युवाहरु आफै म्यानपावर कम्पनीको कार्यालयमा पुगेर राहदानीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । नेपालगञ्ज १६ जयसपुरका राजु पठानले आफुले क्रोयसिया जानका लागि म्यानपावर कम्पनीका बजारप्रबन्धक यादवलाई ७ लाख ७० हजार रुपियाँ बुझाएको बताउनुभयो ।

“तीन महिनाभित्र विदेश जान पाइने भनेपछि ऋण सापटी गरेर पैसा बुझाएको थिएँ”, पठानले भन्नुभयो, “मङ्सिर २५ गते ३ महिना पुग्दैथियो, पहिले नै पैसा लिएका ब्यक्ति सम्पर्कविहिन भएपछि तनाव भएको छ ।”

यादवले तीन महिनाभित्र विदेश उडाउन नसकिए पैसा फिर्ता हुने भन्दै चेक दिएकोमा बैङ्कले फिर्ता पठाइदिएको छ । युवाहरु चेकसहित प्रशासन पुगेका थिए । यादवलाई रकम दिएका युवाहरुकाअनुसार करिब तीनसय बढी युवाहरुले क्रोयसिया जानका लागि यादवलाई रकम बुझाएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यवहादुर खत्रीले म्यानपावर कम्पनीबाट युवाहरु ठगिएको उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो । सञ्चालकहरुको पहिचानको काम भइरहेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी खत्रीले हालसम्म ७० लाख रुपियाँ ठगिएको भन्दै युवाहरु प्रशासनमा उजुरी दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?