logo
२०८० चैत्र ६ मंगलवार



संस्कृति संरक्षणमा सहयोग गर्न गोरखापत्र नेतृत्वलाई मन्त्री साहको आग्रह

राष्ट्रिय |
प्रदेश |


संस्कृति संरक्षणमा सहयोग गर्न गोरखापत्र नेतृत्वलाई मन्त्री साहको आग्रह


लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १७ गते । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को समग्र भाषा सस्कृति संरक्षण तथा प्रवद्र्धनमा सहयोग गर्न गोरखापत्र संस्थानका नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित आन्तरिक मामिला तथा सञ्चर मन्त्रालयमा शुक्रबार भएको भेटघाटका क्रममा मन्त्री साहले सो आग्रह गर्नुभएको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितको टोलीसँग छलफल गर्नुहुँदै मन्त्री साहले गोरखापत्र राष्ट्रको सम्पत्ति भएको पदाधिकारीहरुसँग बताउनुभयो । प्रदेश २ सास्ंकृतिक परम्पराले भरिपूर्ण भएको, चाडपर्व, रीतिरिवाज, रहनसहन, भाषा संस्कृति ऐतिहासिक परम्परा झल्किनेखालका भएकाले त्यस्ता समाचारलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।

सञ्चार माध्यममार्फत पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न उहाँले आग्रह गर्नुभयो । सञ्चार क्षेत्र प्रवद्र्धनका लागि प्रदेश सरकार र आफू सञ्चारमन्त्रीको हैसियतले सदैव तत्पर रहने मन्त्री साहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपालमै सबैभन्दा बढी पाठक यही प्रदेश २ मा रहेको बताउँदै गोरखापत्रको प्रादेशिक संंस्करणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न गोरखापत्र तयार रहेको उहाँले बताउनुभयो ।

भेटका क्रममा गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, गोरखापत्र दैनिक प्रदेश २ का संयोजक धिरेन्द्रप्रसाद साह, गोरखापत्रका वरिष्ठ पत्रकार कन्हैयालाल केशरीलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?