logo
२०८० चैत्र १५ बिहीवार



फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि तनहुँमा अभियान शुरु

खुला |
प्रदेश |


फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि तनहुँमा अभियान शुरु


अमरराज नहर्की
तनहुँ, मंसिर १६ गते । जिल्ला निर्वाचन कार्यालयद्वारा फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि अभियान सञ्चालन गरिएको छ । आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको हो ।

अभियानकोक्रममा पालिकास्तरमै पुगेर शुक्रबारदेखि दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने अभियान सञ्चालन हुँदैछ । कार्यालयले जिल्लास्थित विभिन्न राजनैतिक दल तथा जनप्रतिनिधि अभियानकोबारेमा जानकारी दिएको छ ।

अभियानलाई सफल बनाउन जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा जनप्रतिनिधि साथ र सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाको दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा मङ्सिर १७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर २९ देखि आगामी पुस ९ गतेसम्म चल्नेछ ।

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा भिमाद नगरपालिका घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिका गरी पाँच वटा स्थानीय तहमा नामावली सङ्कलन गरिने बताइएको छ ।

यस्तै, दोस्रो चरणमा ऋषिङ गाउँपालिका शुक्लागण्डकी नगरपालिका आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिका, सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार मतदाता नामावली सङ्कलन खटिने एक जना दर्तास्थल व्यवस्थापकसहित पाँच जना कर्मचारीलाई छनोट गरिएको छ ।

कार्यालयले बुधबार मतदाता नामावली सङ्कलनविशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिऊन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्माले धेरैभन्दा धेरै मतदाता निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो । “फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा पाँच पाँच जना टोली खटाइनेछ”, ढकालले भन्नुभयो ।

व्यास नगरपालिका कार्यालय सदरमुकाममा रहेकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ । नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको छ ।

नामावली दर्ताका लागि १८ वर्ष उमेर पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नसक्ने अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरू स्वतस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । निर्वाचन मिति तोकिएपछि भने मतदाता नामावली सङ्कलन कार्य बन्द गरिने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोग, समन्वय र अनुगमन समिति गठन गरेको निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।
तनहुँ जिल्लामा हालसम्म २ लाख २९ हजार ८ सय ६४ जना मतदाता रहेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार स्थानीय तहको निर्वाचन २०७४ मा १ लाख ९४ हजार ४ सय ७१ जना मतदाता रहेका थिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा हुँदा २ लाख २७ हजार ४७ जना मतदाता रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?