logo
२०७८ माघ १२ बुधवार



पशुपन्छीजन्य वस्तुरहित जीवनशैली

विचार/दृष्टिकोण |


पशुपन्छीजन्य वस्तुरहित जीवनशैली


डा. गोविन्द टण्डन

मासाहार र साकाहारवाद परम्परादेखि चल्दै आएको विचार र चिन्तन हो । जहिलेदेखि मानिस पृथ्वीमा छन्, त्यही बेलादेखि नै समाजमा यो चिन्तन र आहार विषयक ध्रुवीकरण विद्यमान छ । अहिले मानिसमा करिब सात दशकदेखि नयाँ सोच र विचारले घर गरेको छ । संसारमा माछामासु मात्रै होइन, पशुपन्छीलाई मारेर या नमारेर प्राप्त हुने दूध, दही, मह, चिज, घिउ, नौनीलगायतका वस्तु मानिसले जहिलेसम्म खाइरहन्छ, तबसम्म पशुपन्छीले दुःख पाउन छाड्दैनन् । अझ यसमा व्यावसायिकता र बजार अर्थतन्त्रले प्रवेश पाएपछि उपभोक्तावादी सोचका कारण तिनीहरूप्रति घनघोर निर्दयता, क्रुरता र पाशविकता बढ्न गई मानवीयता भन्ने विषय नै रहने छैन भन्ने चिन्तनले पशुपन्छीजन्य वस्तुसमेत नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने विश्वव्यापी अभियान सुरु भइरहेको छ । यसलाई नेपालमा कोही शुद्ध साकाहार भन्ने नाम दिन उद्यत भइरहेका छन्, कोही विशुद्ध साकाहार भन्न रमाउँछन् । अङ्ग्रेजीमा यसलाई ‘भिगन’ भनिन्छ ।

मान्छे साकाहारी प्राणी हो भन्ने अनेक तर्क र आधार छन् । जसको जे प्राकृतिक आहार हो, त्यो खायो भने रोगव्याधि लाग्दैन । त्यसको विपरीत उसका लागि अप्राकृतिक हुने आहार खाइयो भने अनेकथरी रोगव्याधिले जीव मात्रलाई सताउँछ । मानिसलाई अरू बढी सताउँछ र बाँचे पनि मरेतुल्य बनाइरहन्छ । त्यस्तो रोगाहा जीवन के जीवन ? तपाईं÷हामीहरूले यत्रतत्र सर्वत्र यस्ता कैयन् उदाहरण हरेक दिन देखिरहेका छौँ, जहाँ आहार/विहारकै कारण जीवन बर्बाद भइरहेको हुन्छ ।

आज विश्वमा देखिएको अनेकौँ किसिमका रोग खानपानकै कारणले हुन्छ भन्नेमा के विज्ञान, के धर्म–अध्यात्म सबैतिर एकमत छ भन्दा हुन्छ । कुनै बखत मानिस साकाहार भएर पनि बाँच्न सक्छ र ? जस्तो ठानिएको संसारका कैयौँ मुलुकमा हिजोआज साकाहार र पशुपन्छीजन्य वस्तुरहित खानालाई जीवनशैली बनाउन अनेकौँ क्रियाकलाप र अभियानको माध्यमबाट अगाडि बढिरहेको छ । कुनै बखत नखाने भन्ने वस्तु त संसारमै छैन जस्तो ठान्ने चिनियाँ र चिनियाँ मूलका मानिसहरू हिजोआज साकाहारी एवं पशुपक्षीजन्य वस्तुरहित खानामा रमाउन थालेका छन् ।

नेपालमा भिगन प्रारम्भिक अवस्थामा छ भने हुन्छ । साकाहार धर्म÷सम्प्रदायसँग पनि जोडिएको छ÷जोडिन सक्थ्यो भने भिगन भने त्यसरी प्रत्यक्षतः जोडिएको छैन । भिगन मूलतः पशुपन्छीप्रति हुने गरेको क्रुरता, निर्दयता, पाशविकताले आक्रान्त भएर त्यस्तो स्थिति नआओस् र आफ्नै कारणले कुनै पशुपन्छीले दुःख नपाऊन् भन्ने पवित्र विचारले बढ्दै गइरहेको छ । हुन पनि आफ्नो उदर पूर्ति र जिब्राको स्वादका लागि दुई टुक्रा माछामासुको लतमा अल्मलिएर मान्छेले पशुपन्छीमाथि गर्न हुने÷गर्न नहुने अनगिन्ती पाशविक अत्याचार गरेको छ । त्यही अत्याचारबाट पशुपन्छीलाई मुक्ति दिलाउन र आफू पनि स्वयं मुक्त हुन साकाहार र पशुपन्छीजन्य वस्तुरहित आहारपद्धतिलाई मानिसले रोज्दै गए ।

साकाहार र पशुपन्छीजन्य वस्तुरहित खाना पद्धति अहिले विश्वव्यापी बन्दै गइरहेको छ । इजरायलका यहुदी अहिले पाँच प्रतिशत भिगन छन्, आठ प्रतिशत साकाहारी जीवन पद्धति अपनाउनेवाला भएको सन् २०१५ को एउटा सर्वेक्षणले देखाएको छ । आगामी दिनमा १३ प्रतिशत मानिस दुईमध्ये कुनै एक जीवनपद्धति रोज्न तयार हुँदै गइरहेको पनि त्यस सर्वेक्षणले देखाएको छ । जब कि सन् २०१० मा त्यहाँ साकाहारी या भिगन हुने २.६ प्रतिशत मात्रै थिए । बेलायत, अमेरिकामा भिगनको सङ्ख्या कुल जनसङ्ख्याको दुई प्रतिशत रहेको तथा जर्मनमा एक प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

बेलायतमा सन् २०१८ मा गरिएको एक सर्वेक्षणको प्रतिवेदनले पाँच लाख ४२ हजार मानिस भिगन भएको तथ्याङ्क आएको छ । दस वर्षअघि एक लाख ५० हजारको हाराहारीमा त्यहाँ भिगन थिए । स्विडेनमा दस जनामा एक जना भिगन रहेको तथ्य बाहिर प्रकाशमा आएको छ । त्यहाँ छ प्रतिशत साकाहारी, चार प्रतिशत भिगन रहेको तथा १५ वर्षदेखि ३४ वर्ष उमेर समूहकाहरू १७ प्रतिशत भिगन जीवनपद्धति अँगालिरहेको कुरा पनि एक सर्वेक्षणले देखाएको पाइन्छ । भिगनको इतिहास पश्चिमी संसारमा सन् १९४४ मा ‘द भिगन सोसाइटी’ नामले संस्था स्थापना भएपछि सुरु भएको हो । ७५ वर्षको समयावधिमा विश्वमै खानपानप्रतिको दृष्टिकोण, धारणा र विचारलाई आमूल परिवर्तन गरी आउँदो पुस्तालाई शान्तिपूर्ण र आनन्ददायक परिस्थिति र परिवेश हस्तान्तरण गर्न सक्नु नै पनि महान् कार्य हुने लक्ष्यसाथ अगाडि बढिरहेको छ ।

खानेकुराका अनेक विकल्प हुँदाहुँदै आवश्यकता हो÷ होइन ख्यालै नगरी फार्मिङको नाउँमा अनेक पशुपन्छीलाई बलजफ्ती पालेर तिनको दूध, मासु, छाला, भुवा आदिको प्रयोग मानिसले गरिरहँदा त्यस्ता कार्यका लागि हुने खर्च, पानीको नोक्सानी, श्रम, अन्न, रुख–बिरुवालगायत वन–जङ्गलको विनाश तथा ती पशुपन्छीबाट उत्सर्जन हुने कार्बन, मिथेन आदि विषालु ग्यासहरूका कारण हरितगृह ग्यास बढ्दै गइरहेको स्थितिलाई अनुमान गरेका वैज्ञानिक आउँदो दिनको भयावह अवस्था देखेर आत्तिसकेका छन् । तिनको समयमै निदान नहुने हो भने सन् २०५० सम्म झन्डै नौ अर्बको हाराहारीमा पुग्ने विश्व जनसङ्ख्याका लागि चाहिने अन्न, पानीलगायतका आवश्यकता परिपूर्ति कसरी होला भन्ने अवस्थामा विश्व पुगिरहेको छ । विकसित देशहरू आफ्नो उत्पादित अन्नमध्ये करिब ७० प्रतिशत तथा विकासशील मुलुक करिब ४० प्रतिशत माछामासुको निमित्त पशुपन्छीका लागि खपत गर्छन् जब कि भोकमरीले विश्व आक्रान्त बन्दै छ ।

मानिसको जनसङ्ख्या बढ्ला भनेर विश्वका अनेक मुलुकमा यति सन्तान पाउने र उति सन्तान पाउने भन्ने नियम–कानुन बनाएका छन् तर विडम्बना के छ भने अक्सिजन, अन्न, पानी मानिसजस्तै ग्रहण गर्ने पशुपन्छीको उत्पादन अन्धाधुन्ध भएर प्राकृतिक स्रोतहरू व्यापक रूपमा मासिने क्रममा जाँदा पनि विश्वका जिम्मेवार राष्ट्रले थोरै मात्र दृष्टि र चिन्ता देखाएकोप्रति साकाहारी र भिगनहरूको चासो बढ्दै अनेक दबाब सिर्जना गर्दै गइरहेको पनि उल्लेख्य छ ।
नेपालमा घरपालुवा जनावर– गाई, भैँसी, भेडा र बाख्राबाट वार्षिक तीन लाख ८९ हजार मेट्रिक टन मिथेन ग्यास उत्सर्जन हुने गरेको अनुमान छ । विश्वमा ३० प्रतिशत प्राकृतिक रूपमा र ७० प्रतिशत मानवीय कारण एवं पशुपन्छीहरूबाट उत्सर्जन हुने गरेको छ । त्यसमध्ये २२ प्रतिशत उत्सर्जन व्यावसायिक रूपले पालिने घरपालुवा पशुपन्छीहरूबाट हुने गरेको छ । नेपालमा हाल गाई ७२ लाख, भैँसी ४७ लाख, बाख्रा करिब ८५ लाख र आठ लाख भेडा छन् । एउटा गाईबाट प्रतिवर्ष ३० केजी, भैँसीबाट ३० केजी, बाख्राबाट ३.५ केजी, भेडाबाट चार केजी मिथेन ग्यास उत्पादन हुने गर्छ । यसरी गाईले वार्षिक दुई लाख १५ हजार मेट्रिक टन, भैँसीले एक लाख ४० हजार मेट्रिक टन र भेडाले साढे तीन हजार मेट्रिक टन मिथेन ग्यास उत्सर्जन गर्ने गरेको छ । नेपालको वातावरणमा गाईले सबैभन्दा बढी ५५ प्रतिशत र कम भेडाबाट ०.९० प्रतिशत मिथेन ग्यास उत्सर्जन हुने गरेको छ ।

उग्राउने पशुहरूले उत्सर्जन गर्ने मिथेन ग्यासमध्ये गाई र भैँसीले ९१ प्रतिशतभन्दा बढी उत्सर्जन गरेको देखिन्छ । पेटभित्र पाइने जीवाणु पाचन प्रणालीमा सहभागी हुँदा त्यसबाट मिथेन ग्यास उत्सर्जन हुने तथा ८५ प्रतिशत नाक र मुखबाट तथा १५ प्रतिशत गोब्य्राउँदा फाल्ने हुन्छ (डा. चेतराज उप्रेती– गो.प. २०६७ कात्तिक १२) । गाईवस्तुबाट उत्सर्जित हुने मिथेनलाई कम गर्ने केही उपाय भए पनि त्यसको प्रयोग कमै भइरहेको पाइन्छ । किनभने ती विधि एवं प्रविधि झन्टिलो र खर्चिलो भएकाले सामान्यतः अपनाउँदैनन् ।
सन् १८०० यता वातावरणको तापक्रम औसत ०.६ सेल्सियस वृद्धि भएको छ । यही क्रम जारी भएमा आगामी सन् २१०० सम्ममा १ देखि ५ डिग्री सेल्सियस तापक्रम बढ्ने र यो पृथ्वीकै वातावरणलाई असर पार्ने कारक तìव बन्नेमा चनाखो हुनुपर्ने देखिन्छ ।

ओजोन तहलाई प्वाल पार्नेमा मिथेन ग्यास मुख्य कारक हो । यी सारा परिस्थितिबाट त्रस्त बनिरहेको विश्वमा साकाहारी र पशुपन्छीजन्य वस्तुरहित खाना खाने या त्यस्तो जीवन निर्वाह गर्नेहरूको सङ्ख्यामा अभिवृद्धि हुनु भनेको विश्व–ब्रह्माण्डकै आयु बढाउन योगदान पु-याउनु हो । पशुपन्छीप्रति निर्दयी, क्रुर र पाशविक नभएर मानवीय व्यवहार हुन थाल्यो भने विश्वमा बढ्दै गइरहेको हत्या, हिंसाजस्ता अपराध कम गर्न पनि मद्दत पु-याउने छ भन्ने दूरदृष्टि पनि साकाहार र पशुपक्षीजन्य वस्तुरहित जीवनशैलीमा अन्तर्निहित छ । जबसम्म पशुपन्छीको उत्पादन हुँदै रहन्छ, तबसम्म तिनको प्रयोग कुनै न कुनै रूपमा भए नै रहन्छ । उपभोक्तावादी वैश्विक चिन्तन एवं दर्शनका कारण हरेक मानिसमा वृद्धि हुँदै गइरहेको स्वार्थले उनीहरू सदैव अन्यायमा पर्ने समस्याको सम्बोधन गर्दै धर्म, सम्प्रदायको आँखाले भन्दा पनि अब प्रत्येक व्यक्तिको स्वास्थ्य, विश्व ब्रह्माण्डको रक्षार्थ पनि खानपान तथा जीवनशैलीमा आमूल परिवर्तन नआइहुन्न भन्ने मान्यता साकाहार एवं पशुपक्षीजन्य वस्तुरहित जीवनशैलीमा रहेको अविष्मरणीय छ । जीव, जीवन र जगत्लाई जोगाउने या विनाश गर्ने भन्ने कुरा कुनै अन्य जनावरको हातमा नभई मानिसकै हातमा छ, समयमै यसतर्फ सोचौँ । जति ढिलो हुन्छ, त्यति नोक्सान बढ्दै जान्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college