logo
२०८१ बैशाख ७ शुक्रवार

  कोभिडपछि गति लिँदै पर्यटन  



होटल बुकिङ उत्साहजनक, रणनीतिक योजनाको माग

कोभिडपछि गति लिँदै पर्यटन

अर्थ |
पर्यटन |


होटल बुकिङ उत्साहजनक, रणनीतिक योजनाको माग


काठमाडौँ, मङ्सिर ५ गते । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र पछिल्लो तीन महिनायता सुधार हुन थालेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय पर्यटकबाट होटलको बुकिङ उत्साहजनक भएको होटल व्यवसायीले बताएका छन् ।

होटल बुकिङ अवस्था हेर्दा अबको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन समय नलाग्ने व्यवसायीको भनाइ छ । व्यवसायलाई पुरानै लयमा फर्काउने भने रणनीतिक योजना बनाएर अघि बढ्नुको विकल्प नभएको होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो।

सबै देशको पर्यटन चलायमान हुन थालेको अवस्था छ । सबैले रणनीतिक योजना बनाएर काम अघि बढाएका छन्’, शाहले भन्नुभयो, ‘नेपालले त्यो गर्न सकेको छैन । यसमा ढिलाई गरे हामी पछि पर्छौँ ।’

कोरोना महामरीको व्यवस्थापन गर्न सरकारले खोपको व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । ट्रेकिङ, ट्राबल, होटल तथा पर्यटन व्यवसायीले आफ्नो क्षेत्रमा काम गर्दै आएका छन् । कोरोना महामारीपछि सबै निकायलाई एकै ठाउँ राखेर योजनाबद्ध काम भने हुन सकेको छैन ।

योजनावद्ध काम हुन नसक्दा पर्यटन क्षेत्रले गति लिनेमा शङ्का भएको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताउनुभयो । गुरुङले अमेरिका, अष्ट्रेलिया र यूरोपले अझै पनि रेडजोनमै राख्दा नेपाल आउने पर्यटकमा कमी हुने गरेको भन्दै तत्काल यो व्यवस्था हटाउन सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ । बेलायतले भने नेपाललाई रेड जोनबाट हटाइसकेको छ ।

नेपालको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रलाई मान्ने गरिन्छ । धेरै देशले पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक स्रोत मान्ने गरेको पाइन्छ । त्यसकै आधारमा रणनीति बनाएर ती देशहरु अघि बढेको देखिन्छ । नेपालले भने रणनीतिक योजना बनाउन नसक्दा अर्थतन्त्र नै कमजोर बन्ने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन समस्या हुने गरेको गुरुङले बताउनुभयो ।

कोभिड–१९ सङकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले १० दिन क्वारेन्टिन बस्नुपर्ने भन्ने सूचना अझै नसच्याएको व्यवसायीको आरोप छ । यो सूचनालाई हटाएर थप प्रष्ट नहुँदा विदेशीले प्रश्न गर्ने गरेको उहाँले बताउनुभयो । सूचनालाई तत्काल सच्याएर स्पष्ट पार्ने र व्यवसायीको माग र आवश्यकताको आधारमा रणनीतिक योजना बनाएर पर्यटन क्षेत्रको सुधारमा लाग्ने तयारी सुरु गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले प्रभावकारी काम गर्न नसकेको भन्दै निजी क्षेत्रलाई चलायमान बनाउन बोर्डले सशक्त भूमिका खेल्नुपर्ने व्यवसायीको माग छ । आन्तरिक पर्यटन प्रवद्र्धन र भारत, चीनका नागरिकलाई नेपाल भ्रमणमा ल्याउन योजना बनाउन बोर्डलाई पर्यटन व्यवसायीले सुझाव दिएका छन् ।

सबैभन्दा बढीले लिए सगरमाथा आरोहणको अनुमति
अध्यागमन विभागको तथ्याङ्क हेर्दा पर्यटन आगमन क्रमिक रुपमा सुधार हुँदै गएको छ । जनवरीदेखि अक्टुबरसम्म ३५ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । यीमध्ये सेक्टेम्बर महिनामा नौ हजार ९९८ जना, अक्टुबरमा २३ हजार २८४ जना पर्यटक नेपाल भित्रिएका छन् । यीमध्ये सबैभन्दा धेरै पर्वतारोहणका लागि भित्रिएको पाइएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि ४०४ जना अर्थात् हालसम्मकै सबैभन्दा धेरै आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?