logo
२०८० चैत्र १६ शुक्रवार



सवा तीन करोड मात्रा खोप आउने निश्चित

स्वास्थ्य |
मुख्य समाचार |


सवा तीन करोड मात्रा खोप आउने निश्चित


काठमाडौँ, असोज २० गते । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।
विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।”
मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिनुभयो । तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको उहाँले जानकारी दिनुभयो । यसैगरी चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।
माल्दिभ्सबाट दुई लाख मात्रा खोप पनि छिटै आउन लागेको बताइएको छ । क्यानडाबाट चार लाख मात्रा खोप आउने भएको छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया सुरु भइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ । आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको जानकारी उहाँले दिनुभयो । यस्तै, चीनसँंग खरिद सम्झौता भएको थप ६० लाख मात्रा खोप पनि नेपाल ल्याइने प्रक्रियामा छ । हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

कोभिसिल्ड तत्काल आउने
सरकारले भारतसँग यसअघि नै खरिद गरेको कोभिसिल्ड खोप अबको केही दिनभित्रै आउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको २० लाख कोभिसिल्ड खोपमध्ये १० लाख खोप केही दिनभित्रै आउन लागेको हो । १० लाख खोप भने यसअघि नै आइसकेको छ ।
भारत सरकारले खोप निर्यातमा लगाएको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । भारतले देशभित्रै कोरोना भाइरसको महामारी व्यापक फैलिएपछि गत अप्रिल महिनामा खोप निर्यात रोकेको थियो । विश्वकै सबैभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिसिल्ड खोप निकासीमा रोक लगाएपछि छिमेकी मुलुकमा असर परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?