logo
२०८० चैत्र १५ बिहीवार



विद्युत् आपूर्ति बन्द

अर्थ |


विद्युत् आपूर्ति बन्द


हुम्ला समाचारदाता

हुम्ला, असोज ११ गते । यहाँको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द भएको छ । ट्याङ्की नजिकको नहरको पानी चुहिएर जमिन चिरा पारी पहिरो जाने जोखिम भएपछि विद्युत् उत्पादन बन्द गरिँदा आपूर्ति पनि बन्द गरिएको हो ।
विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले अनिश्चित समयका लागि विद्युत् आपूर्ति बन्द गरिएको बताउनुभयो । उहाँले कुनै स्थानमा नहर पनि चिरा परेका कारण पानी आपूर्ति गर्दा झन् जोखिम बढ्ने भएकाले बन्द गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
यसअघि फर्बे नजिकको ओभर फ्लोको पाइपलाइन क्षेत्रमा पहिरो जाँदा केही दिन अगाडि विद्युत् सेवा अवरुद्ध भएको थियो । सो क्षेत्रमा ठूलो पहिरो गएको छ । त्यसको मर्मतका लागि काम सुरु गरिरहेका बेला नहर क्षेत्रमै पहिरो जाने जोखिम बढेपछि विद्युत् उत्पादन बन्द भएको हो ।
सो क्षेत्रको अनुगमन गर्न पुग्नुभएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नहर क्षेत्रमा ठूलै क्षति पुगेको कारण तत्काल विद्युत् आपूर्तिको सम्भावना नदेखिएको बताउनुभयो । त्यसबाट दुई हजार ३०० ग्राहकले विद्युत् उपभोग गर्दै आएका छन् । विद्युत् आपूर्ति बन्द भएसँगै सिमकोट र खार्पुनाथ गाउँपालिका अँध्यारो भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?