logo
२०८० चैत्र १६ शुक्रवार



सचेत नभए पटक–पटक सङ्क्रमण

स्वास्थ्य |
मुख्य समाचार |


सचेत नभए पटक–पटक सङ्क्रमण


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ २७ गते । सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटकसम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ । कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ छ । ती व्यक्तिमा एन्टिबडी विकास नभइसकेको वा कम समयमात्र एन्टिबडी शरीरमा रहेको चिकित्सकहरू बताउँछन् ।
गएको वैशाख महिनामा डा. शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदारहँदै कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखिएपछि डा. पौडेलले पीसीआर परीक्षण गराउनुभयो । पीसीआर पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा बस्नुभयो । दुई साताको बसाइपछि डा. पौडेललाई कोरोना निको भयो । पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनुपर्ने गरी समस्या नभएको डा. पौडेलले जानकारी दिनुभयो । त्यसपछि उहाँलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसेपछि उहाँ अहिले नियमित अस्पताल जान थाल्नुभएको छ ।

डा. पौडेललाई यो पटक पनि खोकी लाग्ने, सामान्य ज्वरो, घाँटी दुख्नेजस्ता समस्या देखियो । अस्पताल भर्ना हुनुपर्ने अवस्था आएन ।
यस्तै, आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना नर्सलाई तेस्रो पटकसम्म कोरोना सङ्क्रमण पुष्टि भयो । उहाँलाई तेस्रो पटकसम्म कोरोना देखिएपछि आत्तिनुभयो । त्यसअघि उहाँले कसैलाई पनि तेसो पटक कोरोना भएको सुन्नुभएको थिएन । उहाँले तत्काल चिकित्सकलाई सोघ्नुभयो । चिकित्सकले यो सामान्य हो, सकभर आफैँ जोगिनुपर्छ भन्ने जवाफ पाएपछि उहाँ शान्त हुनुभयो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोना दुई वा तीन पटकसम्म देखिनु सामान्य भएको बताउनुहुन्छ । उहाँले अहिले पनि अस्पतालमा एकाध व्यक्ति सङ्क्रमण दोहोरिएका कारण अस्पताल आउने गरेको जानकारी दिँदै शरीरमा एन्टिबडी नभएको अवस्थामा पनि कोरोना दोहोरिन सक्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शरीरमा कुनै भाइरसविरुद्ध एन्टिबडी विकास भइसकेपछि शरीरलाई कोरोना भाइरसबाट जोगाउन सकिने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले पटक–पटक कोरोना सङ्क्रमण हुन सक्छ भन्ने सन्देश दिएको जानकारी गराउँदै उहाँले दोस्रो वा तेस्रो पटकसम्म कोरोना देखिएको अवस्थामा नौलो कुरा नमान्न आग्रह गर्नुभयो ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोरोना पुनः सर्ने सम्भावना रहेको बताउनुभयो । उहाँले दीर्घ तथा जटिल रोग भएका व्यक्तिलाई कोरोनाले पुनः सङ्क्रमण गर्न सक्ने भन्दै ती व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय देखिएका विभिन्नप्रकारका भाइरस नेपालमा पनि पाइएको हुनाले एउटै व्यक्तिलाई पटक–पटकसम्म कोरोना दोहोरिने सम्भावना रहने उहाँले जानकारी दिनुभयो ।
डा. पाण्डेले एक पटक कोरोना भइसकेको व्यक्तिलाई पुनः सङ्क्रमण फैलिएको घटना धेरै देखिएको भन्दै खोपले पनि अस्पताल भर्ना हुने सङ्ख्यामात्र घटाउने हुनाले खोप लगाएपछि अब कोरोना लाग्दैन भन्ने भ्रम चिर्नुपर्ने बताउनुभयो । नेपालमा हाल अल्फा, डेल्टालगायतका भेरियन्ट देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?