logo
२०८० चैत्र १५ बिहीवार



डेढ महिनाको अवधिमा ६४ लाखले खोप लगाए

राष्ट्रिय |


डेढ महिनाको अवधिमा ६४ लाखले खोप लगाए



सरोज ढुुङ्गेल

काठमाडौँ, भदौ १८ गते । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउने कामले तीव्रता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भइसकेपछि कोरोनाविरुद्धको खोप लगाउने कार्यले तीव्रता पाएको हो । देउवा गत असार २८ गते प्रधानमन्त्री बन्नुभएको हो । डेढ महिनाको अन्तरमा ६४ लाखले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार २८ गतेसम्म कुल जनसङ्ख्याको ८ दशमलव ८ प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाएका थिए  । असार २८ गतेसम्म कुल जनसङ्ख्यामध्ये २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्रा खोप लगाएका थिए । असार २८ गते पहिलो र पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३६ लाख ५३ हजार १७४  थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले डेढ महिनाको अन्तरालमा उक्त सङ्ख्या बढेर एक करोड ९२ हजार १६४ जना पुगेको जानकारी दिँदै पछिल्लो डेढ महिनाको अन्तरमा ६४ लाख ३८ हजार ९९० जनाले कोरोनाविरुद्धको खोप लगाएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिनुभएको अघिल्लो दिनको तथ्याङ्कअनुसार कोरोना खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या ४६ लाख ६७ हजार ३२८ पुगेको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) १५ प्रतिशत जनतालाई पूर्ण खोप दिन सफल भएको भन्दै नेपाललाई बधाई दिएको छ । सङ्गठनका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बुधबार नेपाललाई बधाई दिनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?