logo
२०८० चैत्र १६ शुक्रवार



जुम्ला जोडियो राष्ट्रिय प्रसारण लाइनमा

प्रदेश |


जुम्ला जोडियो राष्ट्रिय प्रसारण लाइनमा


नेत्र शाही

जुम्ला, साउन १८ गते । कर्णालीको जुम्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरण जुम्लाले आइतबारदेखि जुम्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो ।
प्राधिकरणका जुम्ला वितरण प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडेको छ । गत असारमा कालीकोट पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही समाधान हुने आशाले जुम्लामा खुसी छाएको छ । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुसी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सांसद महतले लामो समयदेखि संसद्मा जुम्लालाई विद्युत् प्रसारण लाइनमा जोड्न माग गर्दै आएको उल्लेख गर्नुभयो ।
जुम्ला क्षेत्र नम्बर (क)का सांसद तथा कर्णाली सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्ला जिल्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएकामा खुसी व्यक्त गर्नुभयो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राष्ट्रिय प्रसारणले यहाँको विकासमा थप आशा जगाएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्रमुख पाण्डेले जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
उहाँले सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिकाका ८ र ९ वडामा चाँडै जोड्ने प्रयासमा रहेको जनाउनुभयो । प्राधिकरणले आगामी दशैँसम्म स्थानीय तहका मुख्य स्थानहरूमा विद्युत् पु-याउने लक्ष्य लिएको छ ।
२०४० सालमा २२० किलोवाटको घुघुत्तीबाट निकालिएको विद्युत्ले जुम्लामा काम चलाइएको थियो । विद्युत् नहँुदा ठूला लगानीका उद्योग तथा व्यवसायमा समेत लगानी गर्न कठिन थियो । प्राधिकरणले जुम्लाका लागि ३३ केभीको लाइन दैलख, कालीकोट हुँदै ल्याउन लागेको छ ।

विद्युत् खरिद बिक्री सम्झौता
रुकुम समाचारदाताका अनुसार  बाँफीकोट गाउँपालिका–३ मा रहेको स्यार्पु तालबाट उत्पादन भएको विद्युत् खरिद बिक्री सम्झौता गरिएको छ । स्यार्पु साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि स्यार्पु पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप वलीले स्यार्पु पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच खरिद बिक्री सम्झौता भएको जानकारी गराउनुभयो ।
खरिद बिक्री सम्झौता भएसँगै उक्त आयोजनाबाट वार्षिक उत्पादन हुने एक करोड ८१ लाख ७७ हजार १०५ युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने बताइएको छ ।
स्यार्पु पावर कम्पनीले स्यार्पुतालबाट बगेको पानीबाट अर्को विद्युत् आयोजना निर्माण गर्न लागेको कम्पनीका अधिकृत वलीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको पूर्ण स्वामित्व रहने गरी स्थापना भएको स्यार्पु पावर कम्पनीले जिल्लाका सबै स्थानीय तह र जिल्लावासीको सेयर लगानीमा ३।३ मेगावाट विद्युत् उत्पादन क्षमताको स्यार्पु साना जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
स्यार्पु साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोट जिल्लामा विस्तार गरिने योजना रहेको कम्पनीका अधिकृत वलीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?