logo
२०८० चैत्र १६ शुक्रवार



धान नफलेका कृषकले क्षतिपूर्ति पाउने

अर्थ |


धान नफलेका कृषकले क्षतिपूर्ति पाउने


सुरेशकुमार यादव

काठमाडौँ, साउन १५ गते । काभ्रे मण्डनदेउपुर नगरपालिकाका किसानलाई गलत धानको बीउ बिक्री वितरण गरेका कारण भएको क्षति र दुःखप्रति माफी माग्दै व्यापारीले क्षतिपूर्ति दिने भएका छन् ।
छिटो पाक्ने चैते धानको बीउ भनेर ढिलो पाक्ने धानको बीउ दिएर किसानलाई नोक्सान भएको स्वीकार गर्दै धानको बीउ बेच्ने काभ्रेका व्यापारी धु्रव ढकालले उनीहरूको सबै धान खरिद गरिदिने तथा बीउ खरिदमा सहुलियत दिने मञ्जुर गर्नुभएको छ ।
बीउ व्यापारी ढकालले कम पानी लाग्ने र चाँडो पाक्ने भन्दै मण्डनदेउपुर नगरपालिकाका अधिकांश किसानलाई कम्तीमा नौ सय केजी धानको बीउ बेच्नुभएको थियो । फागुन र चैतमा लगाइएको धान साउनमा पनि नपाकेपछि किसान चिन्तित भएका थिए ।
उनीहरूले क्षतिपूर्ति माग गर्दै स्थानीय व्यापारी तथा नगरपालिकाका प्रमुखसम्म पुगेर आवाज उठाएका थिए । उनीहरूले आवाज उठाउन थालेपछि बीउ बेच्ने कम्पनीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुशीलराज सुवेदीको नेतृत्वमा गठित एउटा अध्ययन टोलीले त्यसको अनुसन्धान गर्न लगाएको थियो । त्यो अनुसन्धानले पनि चाँडो पाक्ने धानको बीउ भन्दै ढिलो पाक्ने धानको बीउ बेचेको ठहर गरेको थियो ।
वैज्ञानिक सुवेदीले स्थलगत अध्ययन गर्दा खुमल ११ जातको धानको बीउ बेचेको पाइएको तर उक्त धान १४४ दिनमा मात्र पाक्ने भएकाले चैते धानका लागि उपयुक्त नभएको जनाउनुभयो । स्थानीय व्यापारीले पनि ढिलो पाक्ने जातको धान थाहै नपाई बेचेको स्वीकार गरेको वैज्ञानिक सुवेदीले बताउनुभयो । व्यापारी ध्रुव ढकालले खुमलटारको एभरेस्ट सिड कम्पनी प्रालिबाट सो बीउ ल्याएर त्यहाँका किसानलाई बेच्नुभएको थियो ।
एभरेस्ट सिड कम्पनीका प्रमुख नारायण भण्डारीले पनि आफ्नो कम्पनीबाट नै ११ सय केजी बीउ लगेर त्यहाँ बेचेको स्वीकार गर्दै किसानले सो बीउ ढिलो रोपेको तथा मौसमले साथ नदिएका कारण ढिलो फलेको दाबी गर्नुभयो ।
जेजस्तो अवस्थाको भए पनि किसानको सबै धान आफूले खरिद गर्ने मञ्जुरी स्थानीय व्यापारीले गरेको र आफूले पनि आगामी वर्षका लागि धानको बीउ खरिद गर्दा त्यहाँका किसानलाई केही सहुलियत दिने मञ्जुरी गरेको उहाँले बताउनुभयो ।
काभ्रे मण्डनदेउपुर नगरपालिकाका किसान उद्धव तिमिल्सिनाले बीउ बेचेका व्यापारीले आफूहरूको धान खेतमा जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा खरिद गरिदिने भनेका कारण आफूहरूले धमाधम धान काटेर वर्षे धान लगाइरहेको बताउनुभयो ।
फागुन÷चैतमा रोपेको धान अझै कुनैमा दान लाग्दै छ, कुनैमा पाक्दै छ भने कुनैमा दानासमेत लागेको छैन तर व्यापारीले जेजस्तो अवस्थामा छ, त्यो खरिद गरिदिने प्रतिबद्धता जनाएपछि किसानले अहिले धमाधम धान काटेर त्यसलाई व्यापारीलाई बुझाइरहेको उहाँले बताउनुभयो । “धानमा दान नै छैन, कुनैकुनैमा छ । मुस्किलले लगानी उठ्छ, त्यो नै धेरै हुन्छ,” उहाँले भन्नुभयो । बीउ बेचेका व्यापारी ध्रुव ढकालले गल्ती भयो भन्दै माफी पनि माग्नुभयो र जेजस्तो अवस्थामा छ त्यही अवस्थामा धान खरिद गरिदिने र आगामी वर्षका लागि धान खरिदमा सहुलियत दिने भनेपछि आफूहरूले क्षतिपूर्तिका लागि थप दबाब नदिएको किसानले बताए । यसमा किसानको हकहितका लागि आवाज उठाउने धानको बीउमा राष्ट्रिय किसान महासङ्घका अध्यक्ष नवराज बस्नेत पनि ठगिनुभएको छ । उहाँले पनि चैते धानको नयाँ जात र त्यसमा पनि छिटो पाक्ने भनेर एभरेस्ट सिड कम्पनीबाट नै बीउ लगेर रोप्नुभएको थियो तर उहाँहरूको धान पनि फलेको छैन ।
बीउबिजन ऐन २०४५ को दफा १३ को उपदफा २ अनुसार कुनै खास क्षेत्रका लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउबिजन त्यसरी निर्धारण गरिएको क्षेत्रबाहेक अन्य क्षेत्रमा बिक्री वितरण गरिएमा १० हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुने उल्लेख छ । यो ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा विचाराधीन छ । सो विधेयकमा बीउबिजन बिक्री वितरणमा लापरबाही गरे जरिवाना थपिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?