logo
२०८० चैत्र १५ बिहीवार



पञ्चेबाजासहितको रोपाइँ, किसानलाई प्रोत्सान, रमाइलो पनि

मनोरञ्जन |


पञ्चेबाजासहितको रोपाइँ, किसानलाई प्रोत्सान, रमाइलो पनि


बाबुराम देवकोटा
जलकन्या(सिन्धुली), असार १ गते । कमलामाई नगरपालिका–३ जलकन्या निवासी किसान प्रकास मगरको खेतमा मङ्गलबार भएको रोपाइँको माहोल नै बिगतको भन्दा छुटटै रमाईलो थियो । रोपाइँ कुनै सांस्कृतिक कार्यक्रमभन्दा कम्ती थिएन । पञ्चेबाजासहितको दोहोरी गीतको भाकामा रोपाइँमा आएका सबै (कामदार) आ–आफ्नो काम गरि रहेका थिए ।
रोपाइँमा आएका हली, लाठ्ठे, रोपाहार सबै दोहोरी गीत सुन्दै आफ्नो काममा व्यस्त देखिन्थे । रोपाइँलाई सङगितमय बनाएका थिए, कलाघर सिन्धुलीका कलाकारले । कलाघर सिन्धुलीका कलाकारहरु पनि रोपाइँमा आएका अन्य कामदार झै आफै काम गरेर सङगित सहित दोहोरी गीतको भाका पस्किँदा स्थानीयको हेर्ने भीड पनि उत्तिकै थियो ।
किसानलाई कृषि पेशाप्रति उत्साहित बनाउन र गाँउघरमा लोप भएको अर्मपर्मको महत्व दर्शाउन निःशुल्क पञ्चेबाजा सहितको एक महिने सङ्गीतमय रोपाइँ कार्यक्रम अभियानको रुपमा सुरु गरेको कलाघर सिन्धुलीले जनाएको छ ।
रोपाइँमा गोरु जोत्दै गरेको अवस्थामा भेटिनुभएका कलाकार सिन्धुलीका अध्यक्ष सुमन आईडुका अनुसार रोपाई गर्ने किसानले खबर गरेपछि कलाघरका कलाकार पञ्चेबाजा सहित रोपाइँमा उपस्थित हुन्छन । कलाकार रोपाइँमा आए बापत किसानले कुनै शुल्क तिर्नुपर्दैन । उहाँले भन्नुभयो, ‘मानो रोपेर, मुरी फलाउने असार महिना हो । यो बेलामा हामीले किसानलाई खेतीमा उत्साह जगाउन, कृषिसँग सङ्गीतको महत्व दर्शाउन, संस्कृति मार्फत सचेतना जगाउन र किसानका समस्यालाई सङ्गीत मार्फत सरकारलाई खबरदारी गर्ने यो अभियान चलाएका हौं ।’
उक्त अभियान असार महिनाभरि चलाईने उहाँले सुनाउनुभयो । कालाघर सिन्धुलीका अध्यक्ष आईडुका अनुसार उक्त सङगितमय रोपाइँ अभियान कार्यक्रम अन्तर्गत प्रत्येक दिनको ४५ मिनेटको ३० वटा ईपिस्योड (दृश्य) खिचिने छ । त्यसलाई युट्युब च्यानल र सिन्धुलीका दुई, रामेछापको एक र काभ्रेको एक गरी चार वटा रेडियोबाट प्रत्येक दिन प्रसारण गरिनेछ ।
किसान प्रकास मगर कला घरका कलाकारहरु रोपाइँमा आएका अरु कामदार सरह काममा खटेर रोपाइँलाई नै सङगितमय बनाउदा आफु दङ्ग परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले त पहिलो पटक रोपाइँमा यस्तो रमाइलो देखेको हो । पहिले रोपाइँमा बेठी लगाउने भन्ने सुनेको त थिए, तर देखेको थिइँन ।’
गाउँघरबाट लोप भएको बेठिलाई नै बिस्र्याउने गरी कलाघरका कलाकारले रोपाइँलाई अझ तताएको उहाँले सुनाउनुभयो ।
त्यसो त कलाघर सिन्धुली पछिल्लो समयमा लोपोन्मुख संस्कृतिलाई जर्गेना र संरक्षण गर्ने मन्दिरको रुपमा विकसित हुदै गएको स्थानीय बासिन्दा बताउछन् । स्थानीय शिक्षक कर्णबहादुर कार्कीले भन्नुभयो, ‘कलाघरका महिला कलाकार समेत पञ्चेबाजार बजाउन खप्पिस छन् । गाँउघरमा विवाह, ब्रतबन्धमा पञ्चेबाजा बजाउनुपर्दा कलाघरका कलाकार नै सबैको रोजाइमा पर्दै गएका छन् ।’
उहाँका अनुसार अन्य संस्कृतिहरु खैजेडी भजन, दोहोरी गीत गाउन, नाच्न र अन्य रमाइलो कार्यक्रमका लागि पनि कलाघरका कलाकार त्यत्तिकै अब्बल रुपमा गनिएका छन् । उनीहरुको प्रतिभा देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोसी मरिण डाइभर्सनको शिलान्यास गर्न सिन्धुली आउनु हुँदा कलाघर सिन्धुलीलाई एक लाख ५० हजार रुपियाँ पुरस्कार  दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?