logo
२०८० चैत्र १६ शुक्रवार



७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमितः पत्रकार महासङ्घ

राष्ट्रिय |


७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमितः पत्रकार महासङ्घ


काठमाडौँ, जेठ २ गते । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

महासङ्घले च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी स्व पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।

गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । चौध दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे उपचारका क्रममा निधन भएको हो । झापाको साबिक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

महासङ्घ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । “उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ, साथै शोकको यस घडीमा महासङ्घ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?