logo
२०८० चैत्र १६ शुक्रवार

  मेलम्ची सुरुङ परीक्षण फलाेअप  



प्रतिसेकेन्ड २६० लिटर पठाइँदै, १२ किलोमिटर पार, अझै एक हप्ता लाग्ने

पढ्नै पर्ने |
राष्ट्रिय |


प्रतिसेकेन्ड २६० लिटर पठाइँदै, १२ किलोमिटर पार, अझै एक हप्ता लाग्ने
सुन्दरीजलमा बन्द गरिएकाे सुरूङकाे ढाेका । तस्बिर साभार ब्रम्हलाल राजभणडारीकाे फेसबुक


मुकुन्द गैरे
काठमाडौं,फागुन १८ गते । सिन्धुपाल्चोकको मेलम्ची नदीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता समय लाग्ने भएको छ । हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यही फागुन २६ गते भित्र पानी सुन्दरीजलमा आइपुग्नेछ ।

मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुन्दरीजलस्थित महाँकालमा रहेको सुरुङभित्रको ढोका बन्द गरेर सिसी क्यामराको सहायताले सुरुङ भित्रको पानीको अवस्था हेरिरहेको उहाँले जानकारी दिनुभयो ।मेलम्ची खोलाको पानी मध्ये थोरै पानी परीक्षणका लागि पठाइएकाले सुरुङ भरिँदै पानी अगाडि बढाइएको हो । पानी पठाएसँगै पानीको चुहावटदेखि सबै कुरा चेकजाँच गर्नको लागि टनेलभित्र प्रेसर सेन्सर राखिएको समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको कार्यकारी निर्देशक खत्री बताउनुहुन्छ ।

सुरुङमा हालिएको पानी चुहावट भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्नेदेखि अन्य विभिन्न तयारी भइरहेकोे छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

सुरुङ पानी परीक्षणका क्रममा धेरै पानी एकै पटक पठाउन नहुने प्राविधिकहरु बताउँछन् धेरै थोर पानी पठाउँदा पानी सुन्दरीजाल आइपुग्न समय लागेको अधिकारीहरु बताउँछन् । फागुन १० गते खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोलीको सहभागिता थियो ।

परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्नेछ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरे पछि उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने बताइएको छ । पानी फाल्न नै करीब दुई हप्ता लाग्छ त्यसपछि त्यसको पुनः जाँचका लागि एक हप्ता र त्यसक्रममा देखिएका केही लिकेज टाल्न समय लाग्छ ।

पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै जमाएर सुरुङमा त्रुटी नभएको निश्चित गरिने अनि मात्र खानेपानी वितरण हुने बताइएको छ ।‘ परीक्षण सफल भएको खण्डमा दुई महिनामा काठमाडौंका धारामा मेलम्चीको पानी आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको दश दिनमा हेलुम्बु गाउँपालिका– १ अम्बाथानको अडिटको मुख्य गेट फुटेर परीक्षण असफल भएको थियो ।

विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच र मर्मत सम्पन्न गरी पानी पठान्तरण सुरु गरिएको आयोजनाले जनाएको छ । २२ वर्ष अघि मेलम्ची खानेपानी विकास समिति गठन भई मेलम्ची पानी काठमाडौं पथान्तरण सुरु भएको आयोजना पटक पटकको समय सीमा बढाई गत असारमा निर्माण सम्पन्न भएको हो ।

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप