logo
२०८० चैत्र १५ बिहीवार



नेपालसहित छ राष्ट्रलाई तात्काल अनुदानमा खोप दिने भारतको घोषणा

स्वास्थ्य |


नेपालसहित छ राष्ट्रलाई तात्काल अनुदानमा खोप दिने भारतको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तात्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो । पछिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दा खोप आपूर्तिका लागि भारतसँग छलफल गर्नुभएको थियो । 
भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल, म्यानमार र सेसिलास रहेको जनाएको छ । घरेलु मागलाई ध्यानमा राखेर साझेदार राष्ट्रहरुलाई आगामी साताहरुमा चरणबद्ध रुपमा खोप आपूर्ति गरिने विदेश मन्त्रालयले प्रष्ट्याएको छ ।
घरेलु उत्पादकलाई स्थानीय माग धान्न पर्याप्त सञ्चिति रहेको अवस्थामा मात्र विदेशमा आपूर्ति गरिने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले श्रीलङ्का, अफगानिस्तान र मौरिससको नियामक निकायबाट खोप आपूर्ति गर्ने बाटो खुला गर्ने निर्णय पर्खेको समेत जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा कोभिड विरुद्धको खोप विदेशमा आपूर्ति गर्ने उद्घोष बुधबार गर्न लागेको जानकारी साझा गर्नुभएको छ ।
भारतको औषधी नियामक विभाग(डीसीजीआई)ले यसै महिनाको सुरुवातमा अक्सफोर्डको कोभिड १९ विरुद्धको खोप(कोभिशिल्ड) र भारत बायोटेकको उत्पादन कोभ्याक्सिनलाई आपातकालीन प्रयोगको अनुमति दिएको थियो । आष्ट्राजेनेकाको कोभिशिल्ड खोप विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटले घरेलु स्तरमा उत्पादन गर्दैछ । भारत बायोटेकले भने आफ्नै खोप बनाएको छ । जसलाई कोभ्याक्सिन नाम दिइएको छ ।
भारतमा हालसम्म चार लाख ५४ हजार ४९ जनाले कोभिड विरुद्धको खोपको पहिलो शट लगाइसकेका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतको पछिल्लो घोषणाबारे औपचारिक जानकारी आइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा खोप भण्डारणको तयारी पुरा भइसकेको छ, खोप आएको सात दिनभित्र प्राथमिकता निर्धारण गरेर लगाउने कार्य सुरु हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?