logo
२०८१ बैशाख ६ बिहीवार



‘बुक बिल्डिङ’का लागि आवेदन दर्ता

अर्थ |


‘बुक बिल्डिङ’का लागि आवेदन दर्ता


राधा चालिसे

काठमाडौँ, असोज ३ गते । पुँजी बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको ‘बुक बिल्डिङ’मार्फत सेयर निष्कासन गर्न संस्थागत कम्पनीहरूले आवेदन दिन थालेका छन् ।
नेपाल धितोपत्र बोर्डले गत साउनको अन्त्यतिर बुक बिल्डिङ व्यवस्था लागू गरेको हो । त्यसपछि बोर्डले गत भदौ ३ गते योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न आवेदन माग गरेको थियो ।
बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले भन्नुभयो, “योेग्य कम्पनीको सूची प्रकाशित गर्नका लागि न्यूनतम १० कम्पनीको आवेदन पर्नुपर्ने भनिएकोे भए पनि हाल त्यो सङ्ख्याभन्दा बढी कम्पनीको आवेदन
आइसकेको छ । ”  उहाँका अनुसार अर्को साता प्रथम चरणको योग्य कम्पनीको छनोट गरिने छ । बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न संस्थागत लगानीकर्ताका रूपमा सूचीकृत सङ्गठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, मर्चेन्ट बैङ्कर, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष योजना, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोषले आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

के हो बुक बिल्डिङ ?
कुनै पनि कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दा निश्चित मूल्य (फिक्स प्राइस), प्रिमियम प्राइस बुक बिल्डिङमार्फत गर्न सक्छन् । नेपालमा हालसम्म अधिकांश सेयर निष्कासन फिक्स प्राइसमा नै हुँदै आएको छ । एकाध कम्पनीले प्रिमियम प्राइस तोके पनि त्यो फिक्स प्राइसको जस्तैगरी आएको छ ।
तर विश्वका अन्य देशका सेयर बजारमा भने राम्रा कम्पनीका सेयर बुक बिल्डिङमार्फत खरिद बिक्री हुने गरेको छ । जुन नेपालमा नयाँ प्रयोग हुन थालेको छ ।
बुक बिल्डिङमा लगानीकर्ताको मूल्यमा सेयर खरिद गर्नुपर्ने हुन्छ । यसमा कम्पनी र सेयर निष्कासनकर्ताले न्यूूनतम मूूल्य अधिकतम मूूल्यसम्म भनेर मूल्य तोकेर दिएको हुन्छ । त्यो मूल्यभित्र रहेर बोलकबोल (बिडिङ) हुन्छ । लगानीकर्ताको बोलकबोलमार्फत आएको मूल्यबाट कटअफ मूल्य तय हुन्छ । कटअफ मूल्य वा त्योभन्दा माथिको मूल्य कबोल गरेका लगानीकर्ताले कम्पनीको सेयर प्राप्त गर्न सक्छन् । त्योभन्दा कम मूल्य बोलकबोल गर्नेले सेयर प्राप्त गर्न सक्दैनन् ।
यस्तो सेयर खरिदका लागि संस्थागत लगानीकर्ता पहिलो प्राथमिकतामा रहन्छन् । संस्थागत लगानीकर्ताले सेयर जारी गर्ने कम्पनीको वास्तविक अवस्थाको अध्ययन गरेर त्यसको कटअफ प्राइस
निधारण गर्न सक्छन् ।
संस्थागत लगानीकर्ताले माग गरेको सङ्ख्यामा सेयर लिइसकेपछि मात्र कटअफ मूल्य वा त्योभन्दा कममा सर्वसाधारणका लागि सेयर जारी हुन सक्छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनमा सर्वसाधारण लगानीकर्तालाई कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ तर सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँट हुँदा पनि ५० कित्ता नै पर्ने हुन्छ । यो व्यवस्थाले साना लगानीकर्तालाई बुक बिल्डिङमार्फतको सेयर खरिद गर्न भने त्यति सजिलो नहुने बजार विश्लेषकको भनाइ छ ।

बुक बिल्डिङमा कस्ता कम्पनी ?
धितोपत्र बोर्डले बुक बिल्डिङ गर्ने कम्पनीका लागि केही मापदण्ड तोकेको छ । बोर्डका अनुसार बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि कम्पनी लगातार तीन आर्थिक वर्षसम्म खुद मुनाफामा सञ्चालन भएको हुनुपर्ने छ । कम्पनीको प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत कायम भएको हुनुपर्छ । त्यस्तै कम्पनीले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेडिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।
नेपालका सन्दर्भमा यो नयाँ प्रयोग भएकाले बोर्डले नेपाल स्टक एक्सचेन्जलाई विद्युतीय विधिमार्फत नै बोलकबोलको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?