logo
२०८० चैत्र १५ बिहीवार



महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न

अन्तर्राष्ट्रिय |


महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न
तस्विर–द स्टेट्सम्यान


कोलम्बो, साउन २५ गते । श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
राजापाक्षले श्रीलङ्काको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । सपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको उपस्थिति थियो । राजापाक्षले श्रीलङ्कामा योसहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिनुभएको छ ।
राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद् यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ । श्रीलङ्काली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलङ्काको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो ।
श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा शुरु हुनेछ । श्रीलङ्काली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुग्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?