logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना त्रासबीच नरसिंह जात्रा

खुला |


कोरोना त्रासबीच नरसिंह जात्रा


यलु जोशी

ललितपुर, साउन २५ गते । पाटनमा नरसिंह जात्रा विष्णुका साथै शक्तिको पनि आराधना गरी मनाइएको छ । देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन उपाकलं सायाः नामबाट नरसिंहको जात्रा चलाउँदै आए पनि यो पटक भने कोरोना भाइरस (कोभिड–१९)को त्रासमै जात्रा अगाडि बढाइएको छ । मास्क, सेनिटाइजर र सामाजिक दूूरी कायम गर्दै जात्रा अगाडि बढाइयो ।
शान्त स्वभावका नरसिंह पनि छन् भन्ने सबैलाई थाहा नहुन सक्छ । कात्तिक नाचको समयमा निकालिने नरसिंह उग्ररूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन् । जात्राको सुरुवात कहिलेबाट भयो भन्ने यकिन तथ्याङ्क नभएको नरसिंह जात्रा मूल समारोह समितिका संयोजक उमेश्वर राजोपाध्यायले जानकारी दिनुभयो ।
उहाँले विगतमा श्रीधर नारायणको जात्रा हुने गथ्र्याे भनेर समाजका अग्रजले बताउने गर्छन् । एक पटक जात्राको समयमा केही समूहबाट आक्रमण भएर श्रीधर नारायणको जात्रा रोकियो र नरसिंह जात्रा चलाउन थालिएको भनाइ छ भन्नुभयो । ललितपुरका राजोपाध्याय ब्राह्मणको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ । जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो ।
नकबहिबाट धलायचा हुँदै क्वालखु, झतापोल, कुम्भेश्वर, क्वबहाल, स्वथ, मङ्गलबजार, सौगल, सुन्धारा, वकुबहाल, चक्रबहिल, तङ्गल, हौगल, तिछुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पूर्णचण्डी हुँदै गाःबहालबाट प्यंगःथां, पिम्बहाः स्वनिम्हमै सम्पन्न हुने गर्छ ।
यसरी नगर परिक्रमा गराइँदा नरसिंहको दायाँ र बायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन् ।
अगाडि भने भक्त प्रह्लादको रूपमा एक बालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर उल्टो हिँड्ने गर्छन् । साथमा भजन समूह, धिमे बाजा समूह, लाखेले त जात्रालाई हर्षोल्लासमय बनाएको थियो ।
संयोजक राजोपाध्याय नरसिंहको पछाडि कपडाबाट बनाइएका दुईवटा पुतली पनि बाँधिएका हुन्छन् र नरसिंह हिँड्ने बेला सोही पुतली लतार्दै जान्छन् । रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास
छ भन्नुहुन्छ ।
उहाँले जात्राको मुख्य नरसिंह रहेका कारणले नागरिकले यी पुतलीलाई दुई असुर हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरे पनि ती पुतली हिरण्याक्ष र हिरण्यकश्यपु नभई मधु र कैटभ भएको प्रस्ट पार्नुभयो ।
नरसिंह जात्राविज्ञ हेरम्बानन्द राजोपाध्यायले मधु र कैटभको बध नारायणले गरेको जानकारी दिँदै यसमा नारायणलाई साथ दिएका थिए कालीले । मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडिको भाग काली हो भन्नुभयो ।
उहाँले नरसिंह नाचभन्दा अगाडि पनि कालीको पूजा गर्नुपर्ने र नाच सम्पन्न भइसकेर पनि कालीकै पूजा गरेपछि मात्र नाच विधिवत् सम्पन्न हुने परम्पराले नरसिंह र कालीको सम्बन्ध देखिने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?