logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेमा निषेधाज्ञा अटेर गर्ने दुई सय जनालाई कारवाही

प्रदेश |


बाँकेमा निषेधाज्ञा अटेर गर्ने दुई सय जनालाई कारवाही


कोहलपुर, साउन २३ गते । नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैँ फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थाल्नुभएको छ ।

यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिनुभयो । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत रु १०० जरिवाना लिएर छाडिएको छ ।

कोरोना सङ्क्रमित पाँच सय

नेपाल–भारत सीमा नाका जोडिएको यस जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको जानकारी दिइएको छ । तीमध्ये विभिन्न क्वारेन्टिनमा २१३ रहेका छन् । दुई जनाको ज्यान गइसकेको छ । तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन् । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राससलाई बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइसोलेसन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज–११ र १२ का ४० र १८ वर्षीय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर–९ का २१ र २७ वर्षीया दुई महिला कोरोनामुक्त घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?