logo
२०८१ बैशाख ७ शुक्रवार



प्रसिद्ध नीलबाराही नाच यस वर्ष राति मात्र सञ्चालन हुने

समाज |


प्रसिद्ध नीलबाराही नाच यस वर्ष राति मात्र सञ्चालन हुने
फाइल तस्विर


रमेश गिरी

भक्तपुर, साउन २१ गते । मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १०ः०० बजेदेखि शुरु हुने भएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न वडा नं ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयको उपस्थिति पनि कम हुने जानकारी दिनुभयो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो । कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उहाँले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उहाँले आग्रह गर्नुभयो ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि शुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलका चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ । बोडेको अखाः द्यो छेँबाट शुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा रहेको छ । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ ।

नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ । नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात बत्ति पनि निभ्नु हुदैन भन्ने मान्यता छ । प्रत्येकवर्ष भाद्र द्धितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । यो नाच यस वर्ष शनिबार विहान सम्पन्न गरिने प्रजापतिले बताउनुभयो ।

नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्धितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्या“खा स्यनेगु’ भनिन्छ । नाच सिकाउ“दा ताः लगायतका बाजा बजाइने परम्परा रहेको छ । नेपाल सम्वत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच शुरु गर्नुभएको भन्ने वंशावलीमा उल्लेख गरिएको छ ।

पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर नीलबाराही जङ्गलमा तान्त्रिक नृत्य सिकाउनु भएको भन्ने जनविश्वास छ । देवी स्वयमले सिकाउनुभएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् ।

नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?