logo
२०८० चैत्र १५ बिहीवार



तङ्ग्रने प्रयासमा नेपाली चलचित्र

मनोरञ्जन |


तङ्ग्रने प्रयासमा नेपाली चलचित्र


यलु जोशी

काठमाडौँ, साउन ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थलिएको नेपाली चलचित्र उद्योगले विस्तारै तङ्ग्रने प्रयास थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि चलचित्रकर्मी यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने बहसमा जुटेका छन् ।
यस क्षेत्रलाई पुरानै अवस्थामा पु¥याउन निर्माता, हल सञ्चालक, निर्देशक, कलाकार, प्राविधिकसहित सबैलाई राहत पुग्ने गरी कार्ययोजना ल्याउनुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले समस्यामा परेका चलचित्र तथा चलचित्रकर्मीको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विभिन्न चलचित्रकर्मी तथा सरोकारवालासित निरन्तर विचार–विमर्श भइरहेको बताउनुभयो ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले चलचित्रकर्मी चलचित्र क्षेत्रभन्दा अन्य बहसमा रुमल्लिएको चर्चा गर्दै यस विषयमा सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले चलचित्र उद्योगबारे चलचित्रकर्मीलाई नै जानकारी नभएको गुनासो गर्नुभयो । अधिकारीले भन्नुभयो, “चलचित्र क्षेत्रमा अब के गर्ने, सरकारले के गर्दैछ, सङ्घसंस्थाले के गरिरहेका छन् भन्ने कसैलाई चासो छैन । ” यो महामारी सामना गर्दै चलचित्र क्षेत्रले आफूलाई चलायमान बनाउनैपर्ने धारणा उहाँको छ । अध्यक्ष दाहालले चलचित्रका पेसागत सङ्घ सङ्गठनले यस विषयमा सुुझाव दिइसकेको जानकारी दिनुभयो । अहिलेको सङ्कटको अवस्थामा विकास बोर्ड र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
कोरोना प्रभावित चलचित्र
कोरोना आसपासमा प्रभावित बनेको चलचित्रको सङ्ख्या ३३ भए पनि प्रत्यक्ष समस्यामा परेका र घाटा भएका चलचित्रको सङ्ख्या ११ छ । फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ प्रदर्शनको अघिल्लो हप्ता रोकिनु प¥यो । गत फागुन ३० को प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरिसकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’, अर्जुनकुमारद्वारा निर्मित फिल्म ‘चपली हाइट–३’ र सन्तोष सेनद्वारा निर्माण गरिएको फिल्म ‘प्रेम गीत–३’ पनि रोक्नु परेको थियो ।
यस्तै झरना थापा निर्देशित ‘ए मेरो हजुर–४’, दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’, ‘तीन जन्तु’, ‘परदेशी २’, ‘गुञ्जन’, ‘देशान’, ‘विच्छेद’ लगायतका चलचित्रको छायाङ्कन बीचमै रोकिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?