logo
२०८० चैत्र १५ बिहीवार



प्रसव पीडामा रहेकी अछामकी महिलाको निःशुल्क हवाई उद्धार

फिचर |
पढ्नै पर्ने |


प्रसव पीडामा रहेकी अछामकी महिलाको निःशुल्क हवाई उद्धार


शिवराज ढुङ्गाना

अछाम, असार २९ गते । सुत्केरी व्यथा लागेर अर्धबेहोस रहेकी पञ्चदेवल विनायक नगरपालिकाकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । शनिबारबाट सुत्केरी व्यथा लागेर आइतबार बिहान अछाम जिल्ला अस्पताल पुर्याइएकी पञ्चदेवल विनायक नगरपालिका–८, बारलाकी २१ वर्षीया रमना विकलाई मङ्गलसेनबाट सुर्खेत हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

गर्भवती अर्धबेहोस भएका कारण जिल्लामा सुत्केरी गराउन जोखिम हुने भएकाेले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत विकको उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । शनिबार दिउँसोबाट सुत्केरी व्यथा लागे पनि राति जिल्ला अस्पताल ल्याउन नसकिएपछि आइतबार बिहान अछाम जिल्ला अस्पतालमा पुर्याइएको थियो ।

बेहोस अवस्थामा रहेकी महिलालाई बच्चा जन्माउने उपकरण र जनशक्तिको अभावमा बाहिर पठाउन पठाउनुपरेको अछाम जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्वाजले जानकारी दिनुभयो । “सुत्केरी व्यथा लागेको २४ घण्टा बढी भइसकेको थियो, बेहोस अवस्थामा भएकोले उहाँको जिल्लामा बच्चा जन्माउन सकिएन ।” डाक्टर भारद्वाजको भनाइ छ । गर्भवतीमा उच्च रक्तचापका कारण बेहोस हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । रमनाले बारलाको स्वास्थ्य चौकीमा गर्भवतीले लिनुपर्ने सबै सेवा लिएको उक्त स्वास्थ्य केन्द्रका प्रमुख जितेन्द्र केसीले जानकारी दिनुभयो ।

लकडाउन अवधिमै अछाम जिल्लामा पाँच जना गर्भवती तथा सुत्केरीको आपतकालीन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निशुल्क हवाई उद्धार गरिएको छ । हवाई उद्धार गरिएकामध्ये रामारोशन गाउँपालिका–६ की सुत्केरी ढिलो स्वास्थ्य संस्थामा आएका कारण कोहलपुरमा मृत्यु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?