logo
२०८० चैत्र १५ बिहीवार



घोडाघोडी तालमा लकडाउनको मौका छोपी चोरीसिकारी बढ्यो

फिचर |


घोडाघोडी तालमा लकडाउनको मौका छोपी चोरीसिकारी बढ्यो


चाँदनी आचार्य
लम्की, असार १९ गते । विश्व रामसार सूचीमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालमा लकडाउनको मौका छोपी चोरी सिकारी कार्य बढ्दैगएको छ ।

बर्खा लागेसँगै ताल क्षेत्रमा माछा, चरा मार्नुका साथै कलकत्ता टिप्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको स्थानीयले बताएका छन् । घोडाघोडी मन्दिर आश्रमका शङ्कर सञ्ज्यालले दिउँसो तालमा कमलको फल (कलकत्ता) टिप्ने गरेको र राती सयौँको सङ्ख्यामा तालको विभिन्न कुनामा माछा मार्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राती ९ बजेदेखि टर्चको सहायताले माछा मार्ने गर्छन् ।तालको टाढाटाढासम्म राति अबेर सम्म टर्च बलेको देखिन्छ । लकडाउनमा ताल क्षेत्र सुनसान भएपछि तालमा भएका जैविक विविधताको चोरी सिकारी बढेको छ ।’

कोरोनाको सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको घोषणा गरेसँगै घोडाघोडी ताल क्षेत्रको संरक्षण र रेखदेखका लागि काम गर्दैआएको पर्यटन बोर्ड र घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चले समेत मुख्य गेटमा ताला लगाई छोडेपनि अन्य ठाँउबाट तालमा प्रवेश गरी अवैध रुपमा चोरीसिकारी बढेको छ ।

दैनिक सयौँ मानिस विभिन्न ठाउँबाट घोडाघोडी ताल क्षेत्रमा प्रवेश गरी रातभर माछा मार्ने र कसैले नदेख्ने गरी झिसमिसे बिहानमा निस्कने गरेको स्थानीयले बताएका छन् । स्थानीयवासी विष्णुप्रसाद ढकालले पानी पर्दाका दिन झन धेरै माछा मार्न जाने गरेको बताउनुभयो । उहाँले पानी परेपछि तालमा आउने भेलपानीसँगै माछा छेउछेउमा आउने भएकाले पानी पर्दा माछा मार्न धेरै जाने गरेको बताउनुभयो । गत वर्ष चोरीसिकारी नियन्त्रण समूहले निगरानी गरी जाल तथा बल्छी नियन्त्रण गर्दैआएको भए पनि यो वर्ष समूहको सक्रियता देखिएको छैन ।

करिब छब्बीस सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण मानिन्छ । विश्वमै लोप हुने अवस्थामा रहेका चरा, माछा, गोही, कछुवालगायत प्राणीको बासस्थान रहेको तालक्षेत्र स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?