logo
२०८१ बैशाख १२ बुधवार



सङ्गीतप्रेमीले घरमै बसेर ‘विश्व सङ्गीत दिवस’ मनाए

मनोरञ्जन |


सङ्गीतप्रेमीले घरमै बसेर ‘विश्व सङ्गीत दिवस’ मनाए


यलु जोशी
काठमाडौँ, असार ७ गते । सङ्गीतप्रेमीले आइतबार आफ्नै घर–घरमा बसेर ‘विश्व सङ्गीत दिवस’ मनाएका छन् । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यस वर्षको विश्व सङ्गीत दिवस’ मनाउन नपाएपछि सङ्गीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चुअल प्रस्तुति गरेका छन् ।
सङ्गीतलाइ गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । वर्षभरिका ३६५ दिनमध्ये सबैभन्दा लामो दिन जून २१ तारिख विश्वभर सङ्गीत दिवस एकसाथ मनाउने गरिन्छ ।
गायिका मीरा राणा भन्नुहुन्छ, ‘‘सङ्गीत दिवस एक दिन मनाएर हुँदैन, यो त हरेक दिन मनाउनुपर्छ । सङ्गीत जीवनको अङ्ग बन्नुपर्छ ।’’ उहाँले लोप हुन लागेका गीत सङ्गीत तथा वाद्यवादकको संरक्षण गर्नुपर्ने जोड दिँदै भन्नुभयो, ‘‘सङ्गीतको संरक्षणको साथै कलाकारलाई पनि उचित सम्मान गर्नुपर्छ । कोरोनाको कहरलाई बचाउने माध्यम पनि सड्गीत नै हो ।’’
अहिले विश्वभर फैलिएको कोरोनाको कारण धेरैलाई मानसिक समस्याले सताइरहेको बेला त्यसैले सड्गीतको माध्यमबाट केही भए पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तानले सङ्गीतको कुनै भाषा, जाति तथा धर्म नहुने बताउनुभयाे । 
गायक तथा सङ्गीतकार रामकृष्ण दुवालका भनाइमा 'सङ्गीतको शक्ति अतुलनीय छ, त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आ–आफ्नो काममा सक्रिय पाँच इन्द्रीयलाई समेत चलायमान बनाउन सक्छ ।'  
उहाँले सङ्गीत शक्तिको वर्णन गरीसाध्य नभएको बताउँदै सङ्गीतले बालकदेखि वृद्धासम्म, सामान्य व्यक्तिदेखि उच्च ओहदाका व्यक्तिसम्म सबैलाई समेटेको बताउनुभयो । दुवाल सङ्गीत सबैका लागि लोकप्रिय विधा भएकाले यसलाई नबिग्रार्न अहिलेका युवापुस्तालाई आग्रह गर्नुहुन्छ ।
गायिका आस्था राउतले कोभिड-१९ को कारण साङ्गीतिक क्षेत्रमा आबद्ध कलाकारलाई धेरै कठिन भएको गुनासो पोख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?