logo
२०७७ मंसिर १५ सोमवार

भान्सामा दैनिक प्रयोग हुने मसलाले प्रतिरोधी क्षमता बढाउँछ

पढ्नै पर्ने |


2020-06-12-16307


यलु जोशी

काठमाडौँ, जेठ ३० गते । कोरोना भाइरस (कोभिड १९)सँग खानाको माध्यमबाटै लड्नसक्ने पोषण विद्हरूको धारणा छ ।
पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, ‘अहिले कोरोनाले विश्व नै त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प छैन ।’

उहाँले हाम्रो भान्छामा नियमित प्रयोग हुने जीरा, मरिच, बेसार, धनियाँ, दालचिनी, ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, महलगायतले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने जानकारी दिनुभयो ।

खानाका साथै घरमा बसेर गरिने व्यायाम पनि महत्वपूर्ण हुने विज्ञहरूको सुझाव छ । व्यायामले थप रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने प्रधानले प्रष्ट पार्नुभयो ।
डा. प्रधानले खाना खाने मात्र नभएर खानेकुरालाई कसरी स्वच्छ राख्ने ? भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले बन्दाबन्दीको समयमा दिनदिनै पसल जानसक्ने सम्भव नभएकोले पाकेको र काँचो खानालाई अलग राख्नुपर्ने तथा चाँडै बिग्रने र नबिग्रने खानेकुरा पनि छुट्याएर राख्नुपर्ने जानकारी दिनुभयो ।

‘हामीले पसलबाट खानेकुरा खरिद गरेर घरमा ल्याइ सकेपछि घाममा राख्न मिल्ने खाद्यान्नलाई केही बेर घाममा राख्नुपर्छ । सागसब्जी, तरकारीहरू मनतातो पानीमा थोरै नुन हालेर पखाल्नुर्छ’, डा. प्रधानले भन्नुभयो, ‘जसले त्यसमा भएको कीटाणु सबै मर्छ अथवा कीटनाशक विषादी पनि पखालिन्छ ।’

उहाँ थप्नुहुन्छ, ‘बन्दाबन्दीका कारण सबै घरमा नै बन्द भएका कारण शारीरिक कसरत धेरै कम छ । त्यसमाथि विभिन्न परिकार बनाएर खाने पनि बढी हुन्छ । यो बन्दाबन्दीको खाना र जीवनशैलीले पछिको दिनमा धेरै मोटोपनको समस्या देखिन सक्छ ।’

डा. प्रधानले शरीरको तौल बढी हुनु दीर्घ रोगलाई निम्तो दिनुजस्तै भएका कारण खानपानमा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो । साथै कार्बोहाइड्रेडयुक्त खाना र चिल्लोपदार्थ कम उपभोग गर्नुपर्ने जानकारी दिनुभयो ।

स्वस्थ रहनका लागि सन्तुलित भोजन, खानाबाट रोगसँग लड्न सक्ने क्षमता बढाउनुपर्र्न र खानाले पछि हुने प्रभावलाई पनि मिलाएर खानुपर्ने उहाँको सुझाव छ ।
तयारी खाना र काँचो भोजनबीच कुनै किसिमको सम्पर्क हुन नदिन छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने डा. प्रधानको सुझाव छ । ‘काँचो भोजन विशेष गरी मासु, पोल्ट्री उत्पादन र माछामा यस्ता खतरनाक सुक्ष्म जीवन हुन सक्छन् जसले पाकेका अन्य भोजनमा सङ्क्रमण फैलाउन सक्छ ।’ उहाँले भन्नुभयो ।

यदि खाना राम्ररी पकाउने हो भने त्यसमा रहेका सुक्ष्म जीव पूर्ण रुपमा नष्ट हुन्छन् । उहाँका अनुसार ७० डिग्री सेल्सियसको तापमानमा खाना पकाउनु सुरक्षित र खान लायक हुने अनुसन्धानले बताउँछ ।

डा. प्रधान भन्नुहुन्छ, ‘पाकेका खानेकुरा कोठाको सामान्य तापक्रममा राख्दा त्यसमा सूक्ष्मजीव तीव्रगतिमा विकास हुन सक्नेछन् । पाँच डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापमानमा सूक्ष्म जीवनको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही यस्ता खतरनाक सूक्ष्मजीवन पनि हुन्छन् जुन ५ डिग्रीभन्दा कम तापमानमा पनि विकास हुन्छन् ।’

खनामा सन्तुलन कायम गर्न फाइबर भएको फलफुल, साग तरकारी भिटामनि सी तथा भिटामिन ए खानुपर्ने उहाँ सुझाव दिनुहुन्छ । मासु राम्ररी पकाएर मात्र खानुपर्ने तथा थोरै चिल्लो प्रयोग गर्दा भिटामीन बी १२ पाउन सकिने उहाँले बताउनुभयो । कुखुराको मासुमा पनि छालारहित खानुपर्ने उहाँको भनाइ छ ।

खानाबाहेक पानी दैनिक छदेखि सात गिलास पिएमा शरीरलाई पानी पुग्छ । नरिवलको पानी वा कागतीको रस हालेर पनि पिउनु उपयुक्त हुने डा. प्रधानले बताउनुभयो ।
आयुर्वेदिक डा. अमितमान जोशीले बन्दाबन्दीमा खाना सँगसँगै शारीरिक व्यायाम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले आफ्नो शरीरले गर्नसक्ने जति मात्र व्यायाम गर्नुपर्ने र प्रतिस्पर्धामा बढी गर्न खोज्दा नकारात्मक प्रभावसमेत पर्नसक्ने बताउनुभयो । डा. जोशीले ध्यान गर्नु, गीत सुन्नु, नृत्य गर्र्नुजस्ता मानसिक तनाव कम हुने जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

लकडाउन खुकुलो हुनु झन् जोखिम बढ्नु हो, थप अनुशासित हुनुपर्छ

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले पनि यो बन्दाबन्दी र कोभिड १९ सँग लड्न सधैँ स्वस्थ रहनु जरुरी रहेको जानकारी दिनुभयो । खाना बनाउनुअघि र बनाएपछि हात धुनु अनिवार्य रहेको बताउनुभयो । उहाँका अनुसार सूक्ष्म जीवबाट कुनै बिरामी फैलिँदैन तर यिनमा यस्तो केही खतरनाक जीवन हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा पाइन्छ । यी सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, कटिङ (चपिङ) बोर्डमा रहेको हुन्छ । यदि खानपानका वस्तुमा यस्ता जीवको पहुँच पुग्यो भने यसबाट बिरामी पर्न सक्ने खतरा बढी हुन्छ ।

डा. उप्रेतीले थप्नुभयो, ‘कुनै पनि रोगसँग लड्नको लागि पनि भिटामिन डीको अत्यन्त ठूलो भूमिका हुन्छ । त्यसैले घाममा बस्नाले रोग प्रतिरोधक क्षमता बढ्छ ।
बहिानको सूर्यको किरणमा रोगनाशक शक्ति हुन्छ । भिटामीन डी प्राप्त हुन्छ’, उहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘टीबीको बिरामी, हड्डीको बिरामी, कमजोरी, जोर्नीका दुखाइलगायत धेरै रोगहरू घाममा बस्नाले निको हुन्छन् ।’

डा. जोशीले तुलसीले श्वास प्रश्वासको रोग, आस्थमा, ब्रोनकाइटिस आदिमा अत्यन्त लाभ गर्ने तथा रगतमा भएको विकृति हटाएर स्वास्थ्यलाई सन्तुलनमा ल्याउन मद्दत गर्ने बताउनुभयो ।
आयुर्वेदका अनुसार शाकाहारीरुमा संक्रामक रोगहरूको आक्रमण तुलनात्मक रुपले कमै हुन्छ । योग दर्शनअनुसार मन र शरीरको सन्तुलनका लागि पनि शाकाहार उपयोगी हुने डा. जोशीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुरक्षित खानपानका विषयमा केही सुझाव सार्वजनिक पनि गरिसकेको छ -

काँचो भोजन वा वस्तु पकेकाबाट टाढै राख्नुपर्छ
पोल्ट्री उत्पादन, सीफुड (माछा) अन्य खाना वा वस्तुबाट टाढै राख्नुपर्छ । काँचो भोजनका लागि छुट्टै चक्कु र कटिङ बोर्ड प्रयोग गर्नुपर्छ ।
खाना पूर्ण रुपमा पकाउनु पर्छ
विशेषगरी पोल्ट्री उत्पादन, अन्डा र माछा, मासुलाई राम्ररी पकाएर मात्र खानुपर्छ कुनै प्रकारका सुप पनि निश्चित तापमान जस्तै ७० डिग्री सेल्सियसम्म उमाल्नुपर्छ । मासु वा माछा मज्जाले पकाएर मात्र उपभोग गर्नुपर्छ ।
सुरक्षित तापमानमा भोजन सुरक्षित राख्नुपर्छ
पाकिसकेका खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घन्टाभन्दा लामो समयसम्म नराख्ने । तयार खाना वा विशेष गरी छिटै बिग्रिने खानेकुरा ५ डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजभित्र राख्नुपर्छ । त्यसपछि त्यस्ता खाना खानुअघि ६० डिग्री सेल्सियस तापमानमा तताउनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?