logo
२०८० चैत्र १६ शुक्रवार



हिंसा भड्किएपछि ४० अमेरिकी शहरमा कर्फ्यु, हजारौँ गिरफ्तार, पाँच जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


हिंसा भड्किएपछि ४० अमेरिकी शहरमा कर्फ्यु, हजारौँ गिरफ्तार, पाँच जनाको मृत्यु


वासिङ्टन, जेठ १९ गते।
प्रहरी नियन्त्रणमा अफ्रिकी मुलका एक अमेरिकी नागरिकको हत्या भएपछि अमेरिकामा भड्किएको हिंसा अझै वृहत बनेको छ ।
देशभरका विभिन्न शहरमा प्रदर्शनहरू भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरूले करिब ४० शहरमा कर्फ्यु आदेश जारी गरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी, प्रदर्शनमा उत्रिएकामध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उहाँलाई एक श्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।
सयौँ मानिसहरूले ४६ वर्षीय फ्लोयडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउसअगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा विरलै हुने गरेको एक अधिकारीले बताएका छन् ।
गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन शहरहरूबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरूले आग्रह पनि गर्दैआएका छन् ।
प्रहरीले कतिपय ठाउँमा अश्रुग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न कठिन परिरहेको छ ।
जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए ।
हिरासतमा फ्लोयडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौभिनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ । चौभिन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ ।
घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिनुभएको छ । उहाँले फ्लोयडका परिवारसँग कुराकानी पनि गरेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?