logo
२०८१ बैशाख ८ शनिवार



गीतकार रत्न शमशेर थापाको ८३ वर्षको उमेरमा निधन

मनोरञ्जन |


गीतकार रत्न शमशेर थापाको ८३ वर्षको उमेरमा निधन


यलु जाेशी
काठमाडौँ, जेठ १५ गते । वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ ।
थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाले २०१८ सालदेखि गीत लेख्न शुरु गर्नुभएको थियो ।
थापाको अपरान्ह १२ बजे निधन भएको साहित्यकार तथा गीतकार राजेन्द्र थापाले जानकारी दिनुभयो ।
घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, ए कान्छा ठट्टैमा, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे जस्ता कालजयी र राष्ट्रभक्ति गीत लेखेका गीतकार रत्नशमशेर थापाका नयाँ गीत बजारले पाएको थिएन ।
नयाँ पुस्ताले उहाँलाई चिन्दैनन् पनि । तर, उहाँले लेखेका गीत अझै पनि उत्तिकै सुनिन्छन् ।
राजेन्द्र थापाले विगतका दिन सम्झदै भन्नुभयो, 'एक जमानामा उहाँले लेख्नुभएको गीतमा स्वर सम्राट नारायण गोपालदेखि प्रेमध्वज प्रधानसम्मको स्वर हुन्थ्यो । तर, अहिले गीतको शैली फेरिएको छ ।' 
उहाँले थप्नुभयो, 'जहिल्यै दाइले ‘गीत साह्रै सस्तो भएको गुनासो गर्नुहुन्थ्यो । गीत त गहन विषय हो अहिले पनि नारायण गोपाल, प्रेमध्वज प्रधानका गीत सुनिन्छ, किन कि ती गीतमा गाम्भीर्य हुन्थ्यो, अहिलेका गीतमा गहिराइ नै छैन ।’ जस्ता कुरा गर्नुहुन्थ्याे ।' 
यस्तै वरिष्ठ गायक शम्भुजीत बास्कोटाले रत्नशमशेर जस्ता कालजयी गीत दिने व्यक्तिलाई गुमाउनु भनेको गीतले बुवा गुमाउनुसरह भएको बताउनुभयो । उहाँले भन्नुभयाे, 'यहाँ युट्युबमा हिट भएका गीतलाई रुचाइएको भनिन्छ तर गीतको भारी कति छ, विषयवस्तु कत्तिको गहन छ, जस्ता कुरालाई ख्याल गरिन्न । तर थापाको गीतले पुरै सङ्गीतलाइ समेटेकको छ । हामीले गीत गाउँदा वा गीत सङ्गीतको विषयमा कुरा गर्दा उहाँले हामीलाई जहिल्यै पनि गीतमा एउटा कथा अटाउन सक्नुपर्छ, गीत पनि कविताकै एक हिस्सा हो, बरु कवितालाई लामो बनाउन सकिन्छ तर गीतमा जम्मा आठदेखि दश लाइनमै पूरै भाव अटाउनुपर्ने हुन्छ जस्ता कुराको ज्ञान दिनुहुन्थ्यो ।' 
यस्तै, साहित्यकार प्रकाश साय्मीले थापाले धेरै जसो चलचित्रका लागि पनि गीत लेख्नुभएको जानकारी दिनुभयो ।
थापाको गीत लेख्ने शैलीले चलचित्रलाई नै चिनाउने काम गरेको दाबी गर्नुभयो ।
थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखो मायालगायत चलचित्रमा गीत लेख्नुभएको छ । उहाँका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?