logo
२०८० चैत्र १५ बिहीवार



विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु


जेनेभा, जेठ ११ गते । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २६९ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ भने २७ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६७५ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल सङ्ख्या ९८ हजार ६८३ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको सङ्ख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ७३५, फ्रान्समा २८ हजार ३३२, स्पेनमा २८ हजार ६७८, बेल्जियममा नाै हजार २३७, जर्मनीमा अाठ हजार ३६६ र नेदरल्यान्ड्मा पाँच हजार ८११ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २२ हजार १६५ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा सात हजार ३५९, मेक्सिकोमा सात हजार १७९, क्यानाडामा छ हजार ३५५ र चीनमा चार हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?