logo
२०८१ बैशाख ८ शनिवार



रोजाइमा पन्चु डिजाइन

मनोरञ्जन |


रोजाइमा पन्चु डिजाइन


गोरखापत्र समाचारदाता

काठमाडौंँ फागुन ११ गते । विवाहको सिजनमा के लगाउने र कसरी लगाउने भन्ने चिन्ता धेरैमा हुने गर्दछ नै । भोजमा सबैभन्दा राम्रो देखिने रहर पनि सबैको हुने गर्दछ । यसै मेसोमा अहिले बजारमा पन्चु डिजाइनमा साडी, गाउन फेसनमा चलेको छ ।
डिजाइनर सविनाका अनुसार नेपाली फेसन बजारमा दुई वर्ष पहिलेदेखि नै पश्मिना सल मोडिफाई भएर पन्चुका रूपमा देखापरेको हो । त्यस बेला उहाँले ‘विन्टरमा पार्टी वेयर’ गर्दा पन्चुको स्टाइल दिन सकिने सोच बनाउनुभएको थियो । फेसन डिजाइनर उषा नेम्कुल पन्चुको प्रयोग नौलो होइन भन्नुहुन्छ ।
उहाँका अनुसार पछिल्लो समय पार्टी वेयरमा स्टाइल दिन पन्चु फेसन अपनाउने जमात बढेको छ । हरेक ड्रेसमा पन्चु लगाउन सकिने उहाँको धारणा छ । ड्रेस अनुसार त्यही पन्चु फरक–फरक स्टाइलको हुनुपर्ने नेम्कुलको मत छ ।
अभिनेत्रीदेखि नयाँ पुस्ता सम्मले पन्चु पहिरिएको देख्न सकिन्छ । पेन्ट–टिसर्ट, कुर्था, टप्सदेखि सारी, वान् पिस, गाउन, पार्टी वेयर जस्तोसुकै पहिरनमा पन्चु जोडेर स्टाइलिस्ट लुक्स दिन सकिने उहाँको धारणा छ । गाउन र लेहेँगामा समेत पन्चु जोडेर लगाउन सकिने उहाँले बताउनुभयो ।
फेसन डिजाइनर आस्तिक शेरचन लेहेँगा डिजाइनमा प्रख्यात मानिनुहुन्छ । युवामाझ उहाँ चर्चाको सूचीमा हुनुहुन्छ । बिहेभोजमा लगाउने लेहेँगा होस् या पार्टी । यी सबैमा केही न केही नयाँ लुक्स दिने प्रयास गरिरहनुहुन्छ आस्तिक ।
उहाँ अनावश्यक सल सम्हाल्न झन्झट मान्नेलाई पन्चु स्टाइल अपनाउँदा सजिलो हुनेगर्छ । शेरचन छालालाई घामबाट जोगाउन पन्चु स्टाइल उपयुक्त हुने सल्लाह दिनुहुन्छ । गर्मी र जाडो दुवै महिनामा यो स्टाइल सदावहार हुने उहाँको भनाइ छ । मौसम सुहाउँदो यो शैली यति बेला अधिकांशको रोजाइमा परेको देखिन्छ । धेरैले पन्चु लगाएर सामाजिक सञ्जालतिर फोटो पोस्ट गर्नसमेत थालेका छन् ।
मोडल सुनिता अचेल औपचारिक कार्यक्रम होस् या पार्टी, पन्चुमै सजिएर हिँड्नुहुन्छ । कार्यक्रमको प्रकृति अनुसार उहाँ डिजाइनमा ख्याल गर्नुहुन्छ । अलि मोटो ज्यानलाई पन्चुले पातलो देखाउन सहयोग गर्छ । स्कर्ट लगाउन रुचाउने सुनिताले आवश्यक परे त्यसमा पनि पन्चु सजिलै ओड्न सकिने बताउनुभयो । डङ्गोल सांस्कृतिक निरन्तरता पनि हो यो । परम्परागत रूपमा हजुरआमा–आमाको समयमा प्रचलित पछ्यौरीको यो आधुनिक भर्सन हो भन्नुहुन्छ । लगाउँदा सजिलो र सुन्दर देखिने हुँदा प्रायः युवतीको रोजाइमा पन्चु परेको हो ।
अभिनेत्री जेनिशा मानन्धरले प्रत्येक जाडो याममा झैँ यसपटक पनि आमाबाट न्यानो उलन पन्चु उपहार पाउनुहुन्छ । जेनिशा फेसनसित सम्बन्ध र माया पनि जोडियो भने यसको अर्थ झन् गहिरो हुँदोरहेछ । पन्चु त्यसै पनि मन पराउँछु अझ ममीकै हातबाट बुनिएको लाउन पाउँदा को खुसी हुँदैन र भन्नुहुन्छ ?
जाडो मौसममा पन्चुको माग बढी हुन्छ । पछ्यौराको सट्टा अलिकति डिजाइन मोडिफाई गरेर बनाइएको पन्चु पहिरन फेन्सी बजारमा लोकप्रिय भएको छ । मेकअप आर्टिस्ट मञ्जु कार्की फागुन विवाहको सिजन भएकाले पन्चुको माग बढेको बताउनुहुन्छ । कहिलेकाहीँ ढाकाको कपडासमेत किनेर उहाँले पन्चु बनाउन लगाउने गरेको जानकारी दिनुभयो । नेपालीपन झल्किनुका साथै अरूभन्दा युनिक देखिन पन्चुको अर्डर गर्ने गरिएको छ ।
उहाँले डिजाइनरलाई बनाउन दिएकी छु । ड्रेस त मिलाएर लगाउन जाने यत्तिकै राम्रो देखिन्छ भन्नुभयो । पूरै शरीर ढाकेर पनि ग्ल्यामरस लुक्स दिलाउन चाहनेका लागि पन्चु उपयुक्त पहिरन हुन सक्ने फेसन डिजाइनर शेरचनको दाबी छ । उहाँका अनुसार खास गरी जाडोमा घाँटी र छातीको सुरक्षा गर्नुपर्छ ।
साडी, कुर्ता, जिन्स लगायत जुनसुकै लुगामा पनि लगाउन सकिने भएकाले सबै उमेर समूहका महिलाको रोजाइ पर्ने गरेको छ पन्चु । बुटसँग मिलाएर लगाउँदा व्यक्तित्वमा फरक पार्छ । कामकाजी महिलालाई प्रयोग गर्न पनि सजिलो हुन्छ । युवतीले स्टाइलिस पन्चु रोज्ने गरेको पाइन्छ ।
जाडोयाम सकिनै लाग्दासमेत न्यानो कपडाको बजार घटेको छैन । आफूलाई फरक र स्मार्ट देखाउन चाहनेले जहिल्यै नयाँ फेसन अँगाल्ने गरेका छन् । पन्चु पुरानै स्टाइल भए पनि नयाँ शैलीले प्रयोग गर्न सकिन्छ । त्यसैले कतिपय युवती अरूभन्दा फरक देखिन ‘ग्रन्च पाइन्ट’मा पन्चु लगाएर हिँडेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय फेसन बजारले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यतिबेला नेपाली फेसन बजारमा पन्चुको फेसन चलेको छ । विभिन्न रङ र डिजाइनमा पाइने पन्चुको मूल्य सामान्य नेपालीले उपभोग गर्न सक्ने व्यवसायी बताउँछन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?