logo
२०८१ बैशाख ४ मंगलवार



‘परदेशी–२’ चलचित्रको शुभमुहूर्त सम्पन्न

मनोरञ्जन |


‘परदेशी–२’ चलचित्रको शुभमुहूर्त सम्पन्न


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १० गते । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले चलचित्र ‘परदेशी–२’ को निर्माण थाल्नुभएको छ । धार्मिक विधिविधानअनुसार चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको छ ।

मुभिज डटकमको चौथो निर्माणका रुपमा ‘परदेशी–२’ चलचित्रको काम अगाडि बढेको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रमा परदेशीकै कथा व्यथा समेटिने जानकारी दिनुभयो । उहाँका अनुसार ‘परदेशी–२’ रित्तिएका नेपाली गाउँबस्तीका व्यथा हुन् । बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपनामा परदेशिएका युवाको सङ्घर्षमय जीवनको कथा हो ।

राजेश वंशल र नारायण रायमाझीको लगानी रहने चलचित्रमा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायत कलाकारको अभिनय रहने जनाइएको छ । रमेश बि.जी.को कथा, पटकथा रहेको चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द रहेका छन् । चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ । चलचित्रका गीतमा प्रशान्त तामाङ, मिना निरौला, प्रताप दाश, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाको स्वर रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?