logo
२०७७ माघ १४ बुधवार

आठ महिना चल्ने अनौठो नाच

मनोरञ्जन |


2020-02-02-8020


यलु जोशी

भक्तपुर माघ १९ गते । । परम्परागत भेषभूषामा देवगणको प्रतीकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टा र मुकुण्डो लगाएर नाच प्रदर्शन सबैको आस्थाको विषय हो । वर्षभर जन्म र मृत्यु संस्कारसहित मनाइने नवदुर्गा नाच काठमाडाँैं उपत्यकालगायत वरपरका प्राचीन नेवाः सहरमा प्रदर्शन गरिरहेका छन् ।
महिषासुरको प्रतीक खँम्ये वध गरेसँगै भक्तपुरमा नवदुर्गा गण नाच सुरु हुन्छ । नवदुर्गाको देवगण नारायणमान बनमालाको अनुसार नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रह्मायणी पीठमा वध गरिन्छ । त्यसपछि तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर सोही दिनदेखि नाच सुरु गर्नुपर्ने परम्परा छ ।
देवीनाचका लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका हुन्छन् । नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा पु¥याएर आवश्यक पूजाविधिपश्चात नवदुर्गा भवानीको देवताघरमा राखिएको हुन्छ ।
दसैँको एकादशीदेखि सुरु हुने नवदुर्गा नाचलाई भक्तपुरका विभिन्न टोल तथा अन्य जिल्लामा समेत नचाइन्छ । आठ महिना नाचिने नवदुर्गा गणको नाच भक्तपुर नगरपालिका–९ सूर्यमढीबाट सुरु हुन्छ ।
काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच भने अर्को साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ । नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन् । नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन् । नाचका क्रममा बाजा बजाउने समेत गरिन्छ ।
भक्तपुरमा नवदुर्गाको कति महìव छ भने ती देवगण नभई धेरैले दसैँको आभाष नगर्ने स्थानीय तुल्सीनारायण दण्डेख्याले बताउनुभयो । उहाँले दशैँको नौ दिनसम्म त यी देवदेवीको शक्तिपीठमा पूजा हुने जानकारी दिनुभयो ।
यो नाच तान्त्रिक विधिविधान मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो । यसमा बोलेर भन्दा पनि निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरिने गरिन्छ । नाचले मल्लकालीन समयको संयुक्त परिवारको संरचना र रहनसहनबारे जानकारी दिन्छ ।
जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने मायाप्रेम, समाजिक मर्यादा, रीतिरिवाज, भेषभूषा, रहनसहन, खानपिन आदिको प्रतिनिधित्व गरेको हुन्छ । समाजमा नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत यो नाचमा प्रस्तुत गरिएको हुन्छ ।
घरमूली (नंकी)को दायित्व र महìवसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ’, बनमाला थप्नुहुन्छ, ‘‘यसमा मूलीले १८ गण सदस्यहरूलाई नवदुर्गा देवगृहमा भिœयाउनेदेखि लिएर निष्काशन गर्नेसम्मको भूमिका निभाइन्छ, उहाँले भन्नुभयो, ‘‘यस अर्थमा नेवार समुदायमा र संस्कारमा घरमूली प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।’’ भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद् क्षण र उत्साह उमङ्ग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहको सामना गर्नुपर्छ ।

मुकुण्डो तयारी
७४ वर्षीय पूर्ण चित्रकारको दौडधुप भने घण्टाकर्णको दिनदेखि नै हुन्छ । यो दिन सृष्टिको सुरुवात हुन्छ । त्यो दिन १३ वटा मुकुण्डो बनाउने कालो माटो भाग लगाएर पूजा गरिन्छ । चित्रकारले भन्नुभयो, ‘‘माटोको विधिवत् पूजा गरेपछि मुकुण्डो बनाउने तयारी चल्छ । सबभन्दा पहिला महादेवको सिर्जना हुन्छ अनि अन्य देवता । त्यसका लागि माटोमा कपास, नेपाली कागज, पीठो लगायत सामग्री हालेर मुछिन्छ ।’’
रङका लागि जडीबुटीदेखि सुनसम्म प्रयोग हुने जानकारी दिँदै यो सबै प्रक्रिया सकेर मूर्ति तयार गर्न करिब तीन लाख रुपियाँ खर्च हुने उहाँले बताउनुभयो । नवदुर्गाका १३ मुकुण्डोमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, गणेश, भैरव, दुम्ह, सिंह र स्वेतभैरव हुन्छन् । चित्रकारले यी १३ देवीदेवता जसरी पनि नवमीसम्म बनाइसक्नुपर्छ ।

इतिहास यस्तो छ
इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार वंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (ई.स. १५०५ देखि १५१९) ले सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठका अनुसार नेपाल संवत् ६३३ (ई.सं. १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ । गण बनमालाले भन्नुभयो, ‘‘हरेक वर्ष नवदुर्गा नौ महिनासम्म जीवित रहन्छन् । भलभल अष्टमीमा उनीहरूको मृत्यु हुने मान्यताका साथ उनीहरूलाई एक साथ राखेर मानिसको लास जसरी नै जलाइन्छ ।’’

नाच देखाइने स्थान
नाच प्रत्येक दिन फरकफरक टोलमा प्रदर्शन गरिन्छ । बनमालाले भन्नुभयो, ‘‘नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छ । मङ्सिरमा जयबागेश्वरीमा काम सकेर थिमी, नगदेश, वोडस माघमा साँखु, चाँगुनारायण लगायत ठाउँ जान्छ । त्यहाँ नाचिसकेपछि फेरि भक्तपुरमै प्रदर्शन हुन्छ । साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट हुँदै भक्तपुर नै ल्याउँछन् । चैत, वैशाखतिर बनेपा, पनौती नाच प्रदर्शन हुन्छ । भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छ । साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरक फरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ ।
नवदुर्गा नाचभित्र
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ । नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन । मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्क्याउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रूपमा यसलाई माछा मार्ने नाच भनिन्छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।
नवदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ, जसलाई नेपाल भाषामा सिफोद्यः (महालक्ष्मीको प्रतीक) भनिन्छ । यो नाचमा देवगणले भैरव (कालभैरव), महाकाली, बाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक–एक र सिंह दुम्ह (नन्दी–भृङ्गी) दुईसहित १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । यस्तै मौलिक खिं, ताः र कायँः बाजा बजाउने, महापात्र र नकीँ (घरमूली)का साथै अन्य सहयोगीसमेत थप हुन्छ ।

दैवी शक्ति हो त ?
अलि असजिलो जस्तो लागे पनि नवदुर्गा नाचमा अचम्मै हुन्छ । सबैसामु जिउँदो सुँगुरको कोखा काटिन्छ अनि तन्तनी आलो रगत पिउने गरिन्छ । नवदुर्गा नाचको यो विशेषता हो । मूल बहाँ भनेर सुँगुरको बलि दिन्छ । नवदुर्गा नाचमा गण बनमालाका अनुसार यसरी सुँगुरको आलो रगत पिउने क्षमता देवताले राख्छ, रगत पिउने कार्य नाचका भैरवबाट हुन्छ । भैरव हुने गणले बुढीऔँलाले सहाराले मात्र सुँगुरको बध गर्नुपर्छ । यसमा दैवी शक्तिको विश्वास गरिन्छ । सुँगुरलाई फोहोरी जनावरका रूपमा लिने भएका कारण त्यसको उद्धार र पवित्र बनाउन बलि दिएको विश्वास गरिन्छ ।

स्वास्थ्यमा असर
भोको पेट र नाङ्गो खुट्टाले मात्र नियमिति ६ महिनासम्म प्रदर्शन गर्ने वनमाला समुदायको स्वास्थ्य नाजुक हुन्छ । खाना खान नमिल्ने हुनाले खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भइरहको छ । यो नाचलाई कालान्तरसम्म जीवन्त राख्न र नयाँ पुस्तालाई यो नाच हस्तान्तरण गर्दै जान स्थायीखालको नियमित आयस्रोतको बन्दोबस्त गर्न जरुरी रहेको सो समुदायको भनाइ छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?